Thursday, June 17

करुणा मरेको शहरमा अरुणा…!

May 12, 2021 82

नाम : अरुणा कार्की
उमेर : साढे दुई वर्ष
स्थान : पोखराको सबैभन्दा समृद्ध स्थान, न्यूरोड
समय : बेलुकी ५ बजे

झमझम पानी परिरहेको छ । सुनसान सडकमा आक्कल झुक्कल राता नम्मर प्लेटका सवारीसाधन बेलाबेलामा हावाको वेगमा ओहोरदोहोर गरिरहेका छन् । गण्डकी प्रदेशमा कसले सरकार बनाउने र कसले समर्थन गर्ने भन्ने विषयमा ठूलै रडाको मच्चिरहेको थियो । समाचारका अनलाइन पोर्टलहरूले आफू अनुकल समाचारका शीर्षकमा ब्रेकिङ गरिरहेका थिए ।

राष्ट्रिय जनमोर्चाका नेताले विपक्षमा हस्ताक्षर गर्न मानेन्’, ‘एमालेकै नेतृत्वमा सरकार बन्ने’, ‘अब के होला गण्डकीमा’ आदि-आदि शीर्षक । लाग्दै थियो देशमा कोरोना भन्ने शव्द कुनै चिज नै छैन । मान्छे मरेकै छैनन् ।

जब पाँच बज्यो सरकार निर्माणको च्याप्टर क्लोज भयो । त्यसपछि आउन थाले कोरोनाका समाचार । यती संक्रमित थपिए, उति मरे अनि यती निको भए… यस्तै यस्तै । तर कतै आएनन् समाचार– मजुरहरूको अवस्था के छ ? भनेर ।

विष्णु गौतम

हो, तिनै नलेखिएका र धरहराको टुप्पो अनि संसद भवनबाट नदेखिएकी पात्र हुन् अरुणा कार्की । सडकमा मान्छे देख्ने बित्तिकै उनको मुखबाट निस्कने पहिलो वाक्य हो ‘मामा-अंकल नमस्ते ।’

नमस्तेसँगै जोडिएको उनको आशा । कसैलाई मामा त कसैलाई अंकल भनेर सम्बोधन गर्थिन्, करुणाले ।

उनको नमस्तेसँगै रोकिए म अनि सोध्न थालेँ बेलिविस्तार । उनीसँगै रहेकी उनकी हजुरआमा पूजा कार्कीले भन्दै गईन्– ‘हामी ८ जनाको परिवार छौँ । यो मेरी कान्छी नातिनी हो छोरीतिरकी ।’ पर सडककै पेटीमा सुतेकी छोरीतिर देखाउँदै भनिन्, ‘त्यसकी छोरी हो । आमा ८ महिनाको गर्भ खेर गएर बिरामी भएकीले आमाभन्दा मसँग बढी बस्छे ।’

सरकारले दोस्रो चरणको निषेधाज्ञासँगै बढाएको लकडाउनले बेखर्ची भएका कारण सडकको बास भएको छ उनीहरूको ।

मेसिनसरी मजदुरी गर्ने पुष्पाको परिवार पोखराको फुलबारीमा भाडामा बस्ने गरेपनि समयमै भाडा तिर्न नसकेका कारण निकालिएको हो । त्यसपछि विगत एक सातादेखि उनीहरू सडकमा माग्ने र सडकमै सुत्ने गरेका रहेछन् ।

त्यही सडकमै उनकी छोरीको गर्भ खेर गयो रे ! अनि अस्पताल (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) जनबोलीअनुसार गण्डकी अस्पतालमा जाँदा कोभिका कारण भर्ना गर्न नमिल्ने जवाफ दिइयो । भगवान भरोसामा खुल्ला सडकमै थिए उनीहरू ।

कुराकानी गरिरहँदा अरुणा भने पर सडकको पेटीमा अर्को सहोदर दाइसँग खेल्दै थिइन् । उनलाई न कोरोनाको कुरा थाहा छ, न त घरेबेटीले कोठाबाट निकालिदिएको पत्तो छ । एक हप्ताको बीचमा उनले जानेको कुरा एउटै थियो– कोही मान्छे देख्ने वित्तिकै ‘अंकल, मामा नमस्कार ।’ नमस्कार शब्दसँगै झर्ने पैसाले के गरिन्छ त्यो पनि उनलाई ज्ञान थिएन ।

उनीसँगै रहेका उनका ज्वाइँ पनि नजिक आए । भने, ‘हाम्रो घर बुटवल हो, कसैले गाडीमा हाल्दिने हो भने पनि जाने थियौं । लौ न सर भात नखाएको तीन दिन भयो केही मिल्छ भने प्लाष्टिकको व्यागमा हालेर ल्याइदिनु न ।’

कुराकानी गरिरहँदा अरुणा भने पर सडकको पेटीमा अर्को सहोदर दाइसँग खेल्दै थिइन् । उल्लासमय हाँसोसँगै । उनलाई न कोरोनाको कुरा थाहा छ, न त घरेबेटीले कोठाबाट निकालिदिएको पत्तो छ । यो सडक उनका लागि परिवारसहित उत्सव मनाउन आए झैँ भएको छ सायद ! एक हप्ताको बीचमा उनले जानेको कुरा एउटै थियो– कोही मान्छे देख्ने बित्तिकै अंकल, मामा नमस्कार । नमस्कार शब्दसँगै झर्ने पैसाले के गरिन्छ त्यो पनि उनलाई ज्ञान थिएन ।

केन्द्रीय तथ्यांक विभागको पछिल्लो श्रम सर्भे प्रतिवेदन अनुसार नेपालमा दैनिक ज्यालादारी गरी खाने श्रमिकको संख्या १५ लाख ८६ हजार छ । यो संख्या कूल श्रमिकको ४१ दशमलव ५ प्रतिशतहो । जसमध्ये पुरुष श्रमिकको संख्या ११ लाख ७५ हजार अर्थात् ४३ प्रतिशत हो । महिला श्रमिकको संख्या ४ लाख ११ हजार अर्थात् ३७ दशमलव ९ प्रतिशत छ ।

अरुणाले हराएको करुणा खोज्न सुनसान सडकमा निस्केको दिनमा कास्कीमा मात्रै ३ सय ७० जना कोरोना संक्रमित भएका थिए । त्यसदिन देशभर कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । यो समाचार अनलाइनखबरमै थियो ।

अरुणाहरूलाई कति मरे कति थपिए कुनै चासो थिएन । उनीहरूलाई खाँचो थियो त केबल पानी छेकिने अस्थाई छाना अनि भरेको छाकको जोहो । उनीहरूलाई यो पनि चिन्ता छैन कुनै दिन संक्रमित वा मृतकको संख्यामा उनीहरू पर्छन कि पर्दैनन् ।

२००७ सालमा तत्कालिन नेपाली कांग्रेसका गिरीजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला र कम्युनिस्ट नेता मनमोहन अधिकारीले विराटनगर जुट मिलका मजदूरलाई राणा विरोधी आन्दोलनमा सामेल गराए । उनीहरूले त्यतिबेला मजदूरका मुद्दालाई आन्दोलनको परिभाषा बनाए ।

त्यसपछिका कम्युस्टि आन्दोलन हुन वा २०५२ सालको माओवादी विद्रोहमा पनि मजदूरकै मुद्दा केन्द्रमा थियो तर समस्या आज पनि जस्ताको तस्तै ! मजदूर केवल उनीहरूको भर्‍याङ मात्रै बने । उनीहरू सडकमै छन् । मजदुरका बारेमा चर्का कुरा गर्ने कम्युनिष्टहरू अहिले सरकारमा हुँदा पनि मजदुरहरू सबैभन्दा बढी प्रताडित छन् ।

सुरुवातदेखि अहिलेसम्मका आन्दोलनमा पनि मजदुरले आफ्ना हकहितका लागि मालिकविरुद्ध ज्याला, कार्यस्थल सुरक्षा र कामको अवधिजस्ता आधारभूत विषयलाई उठान गरिरहे सुगा राटन जस्तै । तर अरुणाहरू एक हप्ताको असहजतामा किन सडकमा झरेँ ? यसको उत्तर सदियौंदेखि अनुत्तरित छ र सायद सदियौँ रहने होला !

आजकल ब्रेकिङ्ग गर्ने र भ्यूज बटुल्ने नाममा भावनाहरू पथ्थर बन्ने गरेका छन् । त्यसैले पनि होला अरुणाहरूका करुणा बिक्न छाडेका छन्, सहरमा । सरकार बिक्छ किनभने सरकारसँग राष्ट्रिय ढुकुटी छ । अरुणाहरूसँग केवल अपेक्षा मात्रै । त्यसैले त अल्बर्ट आइन्स्टाईनले भने झै मिडिया डुलेका छन् बिक्ने विषयमा भंगेरे टाउके अक्षरसँगै ।

कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक एउटै शब्द रटान गरे ‘अब नेपालमा कोही भोकै हुँदैन, कोही सडकमा हुँदैन अनि कोही बेरोजगार बस्नु पर्दैन ।’

तर उनको यो शब्द अरुणाहरूलाई देख्ने हो भने प्रधानमन्त्री स्वयमका लागि उपहास हो । लज्जा हो । सरकार एक पटक सडकमा आएर त हेर, के छ अवस्था ? के थाहा धरहराको टुप्पोबाट नियाल्दा उनीहरू भुसुना झैँ हराएका पो हुन् कि ? अनि यो मुर्दा शहरमा अरुणाहरूले कहिले पाउँने करुणा ?

प्रतिकृया दिनुहोस्