Friday, June 25

२०२२ को मध्यभन्दा अघि अन्तर्राष्ट्रिय सीमा खुल्दैन : अष्ट्रेलिया

May 16, 2021 154

२ जेठ, काठमाडौं । अष्ट्रेलियाले सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने दोहोर्‍याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय गरेको बताएका छन् । पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढेको छ ।

सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिकको लागि बन्द गरेको थियो । त्यसयता निकै कम मानिसहरु मात्र अष्ट्रेलिया आउन पाएका छन् । जसमा धेरैजसो अन्य मुलुकमा रहेका अष्ट्रेलियाका नागरिक छन् ।

अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचेको बताएका छन् ।

गत साता अष्ट्रेलियाले सीमा खोल्ने योजना अघि सारेको थियो । तर, उक्त योजनामा प्रधानमन्त्री मौरिसनकै पार्टीका नेताहरुले विरोध जनाएका थिए । सीमा बन्द गर्ने निर्णय पनि अस्थायी हुनुपर्नेमा धेरै लामो समयसम्म सीमा बन्द हुन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

यस वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने अष्ट्रेलियाको तयारी छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस्