Tuesday, June 22

लोडसेडिङ अन्त्य र कोरोना नियन्त्रणका मिल्दाजुल्दा पक्ष

May 17, 2021 29

केही हप्तादेखि नेपाल कोरोनाभाइरसको दोस्रो लहरबाट आक्रान्त छ । दोस्रो लहर भुसको आगो जस्तै समुदायस्तरमा फैलिइसकेपछि शुरूमा अस्पतालहरूमा बेडको अभाव र त्यसपछि अक्सिजनको अभावले कोरोना संक्रमितहरू सहित आम जनता प्रताडित भएका छन् ।

प्राणवायुको रूपमा रहेको अक्सिजनको जोहो गर्न नसक्दा कैयौंले दुखद् मृत्युवरण गर्नु परेको छ । काठमाडौं लगायत देशका विभिन्न अस्पताल कोरोनाका बिरामीहरूले खचाखच भरिएका छन् । अक्सिजन उद्योगहरूमा अक्जिसनका सिलिण्डर लिएर कोरोना संक्रमितहरूका आफन्तहरू भौंतारिंदै गरेको हृदयविदारक दृश्य देखिन्छ ।

डाक्टर, नर्सलगायत स्वास्थ्य क्षेत्रका जनशक्तिहरू आफ्नो ज्यानको बाजी लगाएर युद्ध मैदानको अग्रपंक्तिमा रहेर रात दिन खटिरहेका छन् । वास्तवमा नेपालको आजको वास्तविक हिरोहरू स्वास्थ्यकर्मी साथीहरू नै हुन् । उहाँहरूको जति नै तारिफ गरे पनि पुग्दैन ।

सामाजिक अभियन्ताहरू त्यतिकै लागेका छन् । कसैले अक्सिजन त कसैले खानाको जोहो गरी आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । महामारीको यो कहालीलाग्दो अवस्थामा मानवसेवामा आफ्नो ज्यानको बाजी राखी निरन्तर लागिरहनुभएका सबैलाई नमन ।

साथै कोरोना संक्रमणका कारण ज्यान गुमाउनुहुने सबैलाई श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना र संक्रमित भई उपचाररत महानुभावहरू सबैमा शीघ्र स्वास्थ्य लाभको कामना ।

चीनको बुहानबाट शुरू भएको भनिएको भाइरसले विश्वका करीब ३५ लाख मानिसको ज्यान लिइसकेको छ । छिमेकी देशबाट शुरू भएको भाइरस विश्वभरि फैलिंदै आज दोस्रो वेभको रूपमा छिमेकी भारत लगायत धेरै देश नराम्ररी प्रभावित भएका छन् ।

विभिन्न देशले कोरोनालाई काबुमा राख्न आ–आफ्नै खालका विशिष्ट क्षमता प्रदर्शन गरे । चीनले लकडाउनको साथसाथै टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अगाडि बढायो । हरेक निर्णयको कार्यान्वयन समयमा र प्रभावकारी रूपमा भयो ।

व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनका केही मिल्दाजुल्दा पक्ष छन् ।

चीनले २३ जनवरी २०२० मा बुहान लकडाउन नगरेको भए २४ जनवरीदेखि नयाँ वर्षको फेस्टिवल मनाउन देशभरि मान्छेको आवतजावत हुन्थ्यो र देशैभरि नै फैलन सक्ने जोखिम थियो । समयमा लिइएको निर्णय र त्यसको प्रभावकारी कार्यान्वयनको कारण भाइरस फैलन पाएन र विस्तारै काबुमा ल्याउन चीन सफल भयो ।

दश दिनमा हजार बेडको अस्पताल तयार गर्ने काम भयो । हरेक काम भाइरस संंक्रमणको गतिभन्दा बढी वेगमा अगाडि बढाउँदै लगे । दक्षिण कोरियाले टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलार्ई अत्यन्तै प्रभावकारी रूपमा सञ्चालन गर्‍यो । लकडाउन भन्दा पनि टेस्टिङ र संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा राखी उपचार गर्ने कार्यमा राज्यको सम्पूर्ण शक्ति परिचालित गरियोे ।

यी दुवै देशले विदेशबाट देशभित्र भित्रिने गतिविधिलाई अत्यन्तै सूक्ष्म रूपले नियन्त्रण र व्यवस्थापन गर्न सफल भए । नियन्त्रणमा आइसकेपछि पनि निरन्तर अनुगमन तथा नियन्त्रणका विधि अत्यन्त प्रभावकारी रूपमा सञ्चालन गरिनै रहे । आफ्ना नागरिकलाई भ्याक्सिन दिने कार्यलाई देशव्यापी रूपमा अगाडि बढाए ।

कहाँ चुक्यौं हामी ?

भारत र नेपालले कोरोनाको पहिलो वेभपछि कोरोना नियन्त्रणमा आइसकेको र कोरोनालाई काबुमा ल्याइसकेको सन्देश देशभित्र र देश बाहिर दिन थाले । पहिलो वेभबाट खासै क्षति व्यहोर्नु नपरेको हुनाले नेपाल लगायत छिमेकी देशहरूले कोरोना जितेको सन्देश दिन थाले ।

यससँगै सुरक्षाका मापदण्ड राजनीतिक दलका नेता र सरकारी निकायका पदाधिकारीहरूबाटै उल्लंघन गर्न थालेपछि आम जनताबाट पनि लापरबाही हुन थाल्यो । अन्तर्राष्ट्रिय संघसंस्थाले दोस्रो वेभको चेतावनी दिंदादिंदै पनि बेवास्ता गरियो र परिणामस्वरूप आजको कहालीलाग्दो अवस्था भोग्न हामी बाध्य भयौं ।

पहिलो वेभपछि नेपालले दोस्रो वेभको व्यवस्थापन गर्न प्रशस्त समय पाएकै थियो । तर हाम्रा प्रयासहरू त्यतातिर केन्द्रित रहेनन् । अझ ठूला–ठूला सभा–सम्मेलन गर्नमै व्यस्त रह्यौं । बिहेभोज जस्ता सामाजिक तथा सांस्कृतिक कार्यहरूमा मानिसको जमघटलाई खुल्ला गरियो । दोस्रो वेभ भारतमा एकैचोटि विस्फोटक रूपमा फैलन थालेपछि नेपालमा पनि विस्तारै त्यसको असर देखिन थाल्यो ।

एकैचोटि आएको सुनामीलाई धान्ने स्वास्थ्य संरचना हामीसँग तयार थिएनन् । फलस्वरूप हाम्रा हस्पिटलका बेड भरिन थाले र अक्सिजन अभाव खट्किन थाल्योे । जब अक्सिजन नपाएर कोरोनाका बिरामी मर्न थाले तब मात्र स्वास्थ्य मन्त्रालयको होश खुल्यो कि अक्सिजनको पनि अभाव रहेछ ।

शुरूमा बेडको लागि मान्छे भौंतारिन्थे त्यसपछि अक्सिजनको लागि भौंतारिन थाले । अक्सिजन भएमा अस्पतालको भुईंमा बसेर पनि उपचार गर्न खुशी मान्न थाले आम जनता । यी सबैको कारण हामीसँग भएको स्वास्थ्य संरचनाले धान्न नसक्नु नै थियो ।

हामीसँग भएको सीमित स्रोत र साधनले पनि यो संकट व्यवस्थापन गर्न हामी सक्थ्यौं, यदि हामीले दोस्रो वेभलाई एकैचोटि आउन नदिएको भए । अक्सिजन उद्योगहरूलाई यस्तो अवस्था आउन सक्छ, तपाईंहरूले आफ्नो तयारी राख्नुहोला मात्र भनेको भए पचासौं हजार सिलिन्डर अक्सिजन तयारी अवस्थामा रहन्थे र यसले गर्दा अक्सिजन व्यवस्थापनमा केही सहज हुनेथियो । जब एकैचोटि सबै चीजको अभाव हुन थाल्यो संकट गहिरिंदै गयो ।

अहिलेको संकट र लोडसेडिङ

यो संकटलाई केही हदसम्म लोडसेडिङसँग दाँज्न सकिन्छ । लोडसेडिङ हुने वेलामा जति लोडसेडिङ बढ्दै जान्थ्यो, त्यसले झन् थप लोडसेडिङको घण्टा बढाउँदै जान्थ्यो ।

लोडसेडिङ गर्नु नै लोडसेडिङ बढ्नुको प्रमुख कारण थियो । लोडसेडिङ बढ्दै गएपछि हरेक घर–घरले इन्भर्टर र ब्याट्री खरीद गर्थे र सिस्टममा थप लोड थप्दै जान्थ्योे । नेपालभरि करीब ४०० देखि ५०० एम.भी.ए. बराबरको इन्भर्टर लोड मात्रै थियो ।

ब्याट्री चार्ज र डिस्चार्ज हुने बेलामा करीब २० देखि ३० प्रतिशत विद्युत् खेर जान्थ्योे । त्योे खेर जाने विद्युत्ले केही थप घरमा विद्युत् दिन सकिन्थ्यो । एकातर्फ विद्युत् आपूर्ति भएको समय सबैले एकैचोटि आफ्नो यन्त्र उपकरणहरू चलाउँथे भने अर्कोतर्फ इन्भर्टर ब्याट्री पनि चार्ज गर्थे ।

यसले गर्दा विद्युत् आपूर्ति गरेको क्षेत्रको ट्रान्सफर्मर तथा कण्डक्टरहरू ओभरलोड भई थप लोड काट्नुपर्ने अवस्था आउँथ्यो । यो अवस्थाबाट मुक्ति पाउन दुइटा काम गर्न जरूरी थियो । पहिलो सिस्टममा भएको इन्भर्टर ब्याट्री सिस्टमबाट बाहिर निकाल्नु थियो ।

यसको लागि विद्युत् आपूर्ति निरन्तर रूपले चौबीसै घण्टा उपलब्ध गराउनुपथ्र्यो । तर देशैभरि एकैचोटि यो सम्भव थिएन । त्यसैले हामीले पहिलो चरणमा काठमाडौंबाट शुरू गर्‍यौं । काठमाडौंमा निरन्तर विद्युत् आपूर्ति गर्‍यौं, जसले गर्दा काठमाडौं उपत्यकाको इन्भर्टर ब्याट्री चार्ज गर्ने लोड हट्यो । त्यस्तै देशका विभिन्न ठाउँमा पालैपालो लोडसेडिङ अन्त्य गर्दै गयौं ।

दोस्रो महत्वपूर्ण कुरा ग्राहक वर्गमा लोडसेडिङ हुँदैन भन्ने विश्वास दिलाउनुथियो, जसले गर्दा पिक समयमा चलाउने विद्युतीय उपकरणहरू अन्य समयमा चलाउन प्रोत्साहित गथ्र्यो । हामीले विभिन्न जनचेतनाको माध्यमबाट बेलुकाको पिक समयमा आउने लोडलाई अन्यत्र समयमा सारी पिक लोडलाई घटाउन सफल भयौं ।

बेलुकाको पिक समयको विद्युत् आपूर्ति व्यवस्थापन भएपछि अन्य समयको लोड व्यवस्थापन गर्न सहज हुँदै गयो । त्यसपछि उद्योगको विद्युत् आपूर्तिको व्यवस्थापन लगायत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको वैज्ञानिक व्यवस्थापन र चुहावट नियन्त्रण गर्दै पूरै देशको लोडसेडिङ व्यवस्थापन गरिएको थियो ।

कोभिड नियन्त्रण र लोडसेडिङ व्यवस्थापन

हुन त म सरुवा रोग विशेषज्ञ होइन तर व्यवस्थापकीय रूपले अध्ययन गर्दा कोभिड व्यवस्थापनसँग लोडसेडिङ व्यवस्थापनमा केही मिल्दाजुल्दा पक्ष छन् । कोभिड भाइरस रोकेर रोक्न सक्ने अवस्थामा थिएन । तर यसको संक्रमणको दरलाई कसरी कम गर्ने भन्ने नै महत्वपूर्ण विषय थियो ।

छिमेकी देश भारतसँगको खुल्ला सिमानाको व्यवस्थापन, आन्तरिक व्यवस्थापन र कोरोना संक्रमण पश्चात् संक्रमितको व्यवस्थापन आदि कुरा अत्यन्त महत्वपूर्ण थिए । यी सबै कुरामा हामी चुक्यौं । त्यसैले संक्रमण हाम्रा स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी एकैचोटि बढ्यो ।

नेपाल भारत बीच बढी आवतजावत हुने धनगढी, नेपालगञ्ज, वीरगञ्ज, भैरहवा लगायतका शहरमा आज जुन संकट छ, खुल्ला सीमाको समयमा व्यवस्थापन नभएको कारणले नै हो । बिरामीका आफन्त हतास मनस्थितिमा पुगे र सकेसम्म आफू कसरी सुरक्षित हुने भनेर लाग्दा हस्पिटलको बेड र अक्सिजन सिलिण्डर अपुग हुन थाल्यो ।

लोडसेडिङको बेलामा पनि भएको यस्तै हो । यस्तो बेलामा सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम गरी छिटोभन्दा छिटो जनतालाई विश्वासमा ल्याउने काम गर्नुपथ्र्यो । अक्सिजन र बेड अभावले झन् विकराल रूप लियो । बेड पाउन बिरामी इमर्जेन्सी र हस्पिटल बाहिर पाल टाँगेर बस्नुपर्ने अवस्था आयो ।

अक्सिजन मात्र पाए पनि बिरामी खुशी हुने अवस्था छ । हरेक दिन अक्सिजन नपाएर यति जना बिरामीको मृत्यु भयो भन्ने खबर हेडलाइन बनेर आउँछ । अक्सिजन फ्याक्ट्रीका कर्मचारीहरू ग्याँस सिलिण्डर भर्न चौबीसै घण्टा खट्दा पनि भ्याई–नभ्याई छ ।

अक्सिजन सिलिण्डर भर्ने कामदारहरू कोरोना संक्रमित भएर पनि काम गरिरहेका छन् । अक्सिजन सिलिण्डर कुर्नेको लाइन फ्याक्ट्री बाहिर लामो छ । रातभरि कुर्दा पनि अक्सिजन नपाएर निराश भएर फर्केकाहरू पनि छन् ।

यो कहालीलाग्दो अवस्था आउनुमा सरकारलाई मात्र दोष दिएर पुग्दैन हामी सबै नागरिक पनि उत्तिकैै जिम्मेवार छौं । हामी सबै अनुशासित भएको भए आज यो अवस्था आउने थिएन ।

अक्सिजन उत्पादन र मागको अवस्था

अक्सिजनको हाहाकार भएपछि मैले देशभित्र अक्सिजनको कति माग रहेछ र कति उत्पादन क्षमता रहेछ भनेर अध्ययन गर्न लागें । मैले विभिन्न अक्सिजन उत्पादकहरू र अक्सिजन उत्पादक संघका पदाधिकारीहरूसँग पनि केही तथ्यांक लिएँ । केही डाक्टर साथीहरूसँग पनि छलफल गरें ।

देशभरका उत्पादकहरूको तथ्यांक नेपाल विद्युत् प्राधिकरणका साथीहरूबाट प्राप्त भयो । उहाँहरूले अक्सिजन उत्पादन गर्ने उद्योगको लागि निरन्तर विद्युत् आपूर्ति गर्न हर सम्भव प्रयास गरिराख्नुभएको छ । आज २०७२/७३ सालको जस्तै १४/१५ घण्टा लोडसेडिङको अवस्था भएको भए के हालत हुन्थ्यो ? अनुमान गर्न गाह्रो छ, त्यस्तो अत्यासलाग्दो अवस्थाको सम्झना समेत गर्न सकिंदैन ।

विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार देशभरमा करीब ३३ वटा अक्सिजन प्लान्ट रहेको पाइयो । यसमा सरकारी तथा निजी अस्पतालहरूले राखेका प्लान्टहरू समावेश गरिएको छैन । प्रदेश अनुसारको अक्सिजन उत्पादन क्षमता र अन्दाजी माग तलको तालिकामा देखाइएको छ ।

प्रदेश अक्सिजन उत्पादन उद्योगको संख्या अक्सिजन उत्पादन क्षमता (सिलिण्डर संख्या २४ घण्टामा) अक्सिजन माग   (सिलिण्डर संख्या प्रति २४ घण्टामा) बढी/घटी (सिलिण्डर प्रति २४ घण्टामा)
प्रदेश–१ २,३०० २,००० + + ३००
प्रदेश–२ २,२५० २,००० + + २५०
वागमती १३ ७,४०० १५,००० + -७,६००
गण्डकी १,८४० २,००० + -१६०
लुम्बिनी २,४८८ ४,००० + -१,५१२
कर्णाली छैन छैन १००० + -१०००
सुदूरपश्चिम १०० २००० + -१,९००
जम्मा ३३ १६,३७८ २८,००० -११,६२२

एउटा सिलिण्डरमा ४७.२ लिटर अक्सिजन हिसाब गर्दा दैनिक माग करीब १३२१.६ किलोलिटर देखिन्छ भने उत्पादन ७७३.०४ किलोलिटर मात्र देखिन्छ । प्रदेश १ र २ मा रहेका अक्सिजन उद्योगहरूले ती प्रदेशहरूको मागलाई धान्न सक्ने देखिन्छ ।

विशेष गरेर वीरगञ्ज एरियामा रहेका तीन वटा उद्योगहरूबाट उत्पादित अक्सिजनमध्ये केही सिलिण्डर हेटौंडाको मागलाई भरथेग गर्न सकिने देखिन्छ । कोरोना संक्रमणको हालको दरलाई हेर्दा गण्डकी प्रदेशमा पनि अक्सिजनको अभाव त्यति देखिंदैन ।

वागमती प्रदेशमा १३ वटा अक्सिजन उद्योग भए पनि दैनिक उत्पादन क्षमता करीब ७ हजार ४०० सिलिण्डर मात्र रहेको र माग करीब १५ हजार सिलिण्डरभन्दा बढी रहेकोले यो प्रदेशमा अक्सिजनको चरम अभाव देखिन्छ ।

त्यस्तै गरी लुम्बिनी प्रदेशमा उत्पादनभन्दा माग करीब दुई गुणाले बढी छ । कर्णाली प्रदेशमा एउटा पनि छुट्टै अक्सिजन उद्योग नरहेको र सुदूरपश्चिममा एउटा उद्योगबाट दिनमा करीब १०० सिलिण्डर मात्र उत्पादन हुने गरेको छ । जबकि यी दुई प्रदेशको दैनिक माग करीब ३ हजार सिलिण्डरभन्दा बढी छ ।

तसर्थ काठमाडौं, बुटवल भैरहवा, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, नेपालगञ्ज तथा आसपासका क्षेत्रहरूमा अक्सिजनको अभाव छ । नेपालगञ्ज र कोहलपुरमा केही उद्योग भएकाले केही हदसम्म अक्सिजन आपूर्ति सहज देखिन्छ ।

विराटनगर, वीरगञ्ज र भरतपुरमा रहेका केही अक्सिजन उद्योगबाट बुटवल र भैरहवाको केही माग धान्ने गरेको छ । तर सुदूरपश्चिम र कर्णाली प्रदेशको लागि थप आपूर्ति गर्न सक्ने अवस्था देखिंदैन । पश्चिमका पहाडी जिल्लाहरूमा त झन् आपूर्ति गर्न सक्ने अवस्था नै छैन ।

सुर्खेतमा अक्सिजन अभावका कारणले बेड हुँदाहुँदै पनि अस्पताल पूरा क्षमतामा सञ्चालन हुनसकेको छैन । अक्सिजन उद्योग रहेका जिल्लाहरूका प्रशासन कार्यालयले नै जिल्लालाई नपुगी अन्यत्र लान नपाउने नियम बनाएपछि झन् समस्या गम्भीर भएको देखिन्छ । अन्य जिल्लाका सिकिस्त बिरामीले समेत अक्सिजन नपाएर मर्नुपर्ने अवस्था आएको छ । यो न्यायोचित वितरण पक्कै होइन ।

सुदूरपश्चिमका केही सिकिस्त बिरामीहरू भरतपुर र झापासम्म हेलिकप्टरबाट लैजाने गरिएका खबरहरू सार्वजनिक भएका छन् । सम्पन्न व्यक्तिहरूले त यसरी उपचार पाउलान् तर विपन्न वर्गले उपचार अभावमा तड्पिएर जीवन गुमाउनुपर्ने अवस्था छ ।

अहिलेको अवस्थामा नै हाम्रा उद्योगबाट उत्पादन हुने अक्सिजनबाट करीब ६० प्रतिशत मात्र माग धान्न सक्ने अवस्था छ भने संक्रमण दर योभन्दा अझ बढ्दै जाने हो भने अवस्था थेग्नै नसक्ने गरी नियन्त्रण बाहिर जाने देखिन्छ ।

बजारमा सिलिण्डर करीब एक लाखको हाराहारीमा छन् भन्ने अनुमान छ तर घरघरमा राख्ने कारणले गर्दा रोलिङमा रहेको सिलिण्डर करीब ६० देखि ७५ हजार मात्र छन् भन्ने सुनिन्छ । कुनै उद्योग सिलिण्डर नभएर पूर्ण क्षमतामा सञ्चालनमा नआएको पनि देखिन्छ ।

करीब पचास प्रतिशत सिलिण्डर त ढुवानीको चरणमा नै रहने देखिन्छ । वितरण प्रणाली प्रभावकारी नहँुदा पनि समयमा आवश्यक ठाउँमा अक्सिजन पुर्‍याउन सकिरहेको अवस्था छैन ।

एक जना अक्सिजन व्यवसायी भन्नुहुन्थ्यो, ‘हामीलाई सरकारले पन्ध्र दिन अगाडि मात्र अलर्ट गरेको भए हामीले पन्ध्र दिनको लागि पुग्ने अक्सिजन सिलिण्डरमा भरेर राख्थ्यौं र त्यसपछि खाली हुने सिलिण्डर भर्दै दिंदै गरेर अहिले भएकै उद्योगहरूबाट अक्सिजनको माग सजिलै पूर्ति गर्थ्यौं ।’

यो तर्कमा सत्यता छ । अक्सिजनको लागि चाहिने कच्चा पदार्थ भनेको हावा र विद्युत् मात्र होे । यी दुवै कहींबाट ल्याउनुपर्दैन । चौबीसै घण्टा मेसिन चलाएर करीब एक लाख सिलिण्डर भरेर राख्न पाएको भए करीब पन्ध्र दिन पर धकेलिन्थ्यो ।

यसले गर्दा धेरै सहज हुन्थ्यो । अहिले पनि तत्काल करीब दुई लाख थप सिलिण्डर जोहो गर्नुपर्छ । अक्सिजनको माग केही कम हुन थालेपछि खाली सिलिण्डर भर्ने काम गर्नुपर्ने हुन्छ । नयाँ अक्सिजन उद्योग स्थापना गर्न कम्तीमा पनि तीनदेखि चार महीना लाग्नेछ ।

माथि उल्लेख गरिएका अक्सिजन उत्पादन क्षमता र माग अस्पतालहरूको आन्तरिक उत्पादन क्षमता बाहेकको हो । अस्पतालहरूको आन्तरिक उत्पादनले दिने आपूर्ति बाहेकको मागलाई मात्र उल्लेख गरिएको छ ।

केही ठूला अस्पतालहरूमा पनि अक्सिजन आफैं उत्पादन गर्ने उपकरण जडान गरेको देखिंदैन । जडान भएकामा पनि विभिन्न समस्या आई कम क्षमतामा संचालन भइरहेको वा संचालनमै नरहेको देखिन्छ ।

वीर अस्पताल ट्रमा सेन्टरमा रहेको २० हजार लिटर क्षमता बराबरको लिक्विड अक्सिजन ट्यांक लिक्विड अक्सिजन ल्याउन नसकी संचालनमा नै आएको छैन । लिक्विड अक्सिजन उत्पादन गर्ने फ्याक्ट्री नेपालमा छैन । भारतबाट आयात गर्नुपर्ने हुन्छ । लिक्विड अक्सिजन ढुवानी गर्न पनि विशेष किसिमको क्रायोजेनिक कन्टेनर चाहिन्छ । यो कन्टेनर पनि नेपालमा छैन ।

भारतबाट ल्याउनलाई अहिले भारतमै हाहाकार भइरहेको अवस्थामा तत्काल सम्भव देखिंदैन । तसर्थ ट्रमा सेन्टरमा क्षमता भएर पनि अक्सिजन सिलिण्डरमा निर्भर हुनु परेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान खतरामा पर्‍यो भनेर अस्पतालका प्रमुखले नै ट्वीट गरिरहेको हामीले देखिरहेका छौं ।

हाल टेकु अस्पताल र भैरहवामा पनि लिक्विड अक्सिजनको ट्यांक जडान गरिएको छ । तर लिक्विड अक्सिजनको अभावमा यी सबै प्लान्ट सञ्चालनमा आउने अवस्थामा छैनन् । लिक्विड अक्सिजनमा हामी पूर्ण रूपले भारतमा निर्भर छौं । तत्काल १० देखि १५ हजार लिटरको ४/५ वटा क्रायोजेनिक कन्टेनर खरीद गरी लिक्विड अक्सिजन आयात गर्ने प्रयास गर्नुपर्छ । यी कन्टेनरहरू पछि नेपालमै लिक्विड अक्सिजन प्लान्ट राखी ढुवानीको लागि प्रयोग गर्न सकिन्छ ।

अक्सिजन आपूर्तिमा तत्कालीन र दीर्घकालीन योजना

आजको भयावह अवस्थाबाट पाठ सिकेर नेपालले अक्सिजन आपूर्ति सहज बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाई आवश्यक कदम चाल्नुपर्ने हुन्छ । तत्कालको समस्या समाधान गर्न कम्तीमा दुई लाख सिलिण्डर स्टक हुने गरी व्यवस्था गर्ने र भएका अक्सिजन प्लान्ट सबैलाई पूर्ण क्षमतामा चलाउन सम्पूर्ण प्रयास गर्ने ।

प्राविधिक कारणले विद्युत् आपूर्ति चौबीसै घण्टा दिन नसक्ने ठाउँमा सरकारले नै डिजल जेनेरेटर राखेर भए पनि चौबीसै घण्टा चलाउने व्यवस्था गर्ने । उपलब्ध भएसम्म विदेशबाट अक्सिजन कन्सन्ट्रेटर युनिटहरू तत्काल खरीद गरी अस्पतालहरूमा उपलब्ध गराउने ।

चीनबाट कन्सन्ट्रेटरहरू तत्काल खरीद गर्न सक्ने देखिएको छ । निजी क्षेत्र र सरकारी निकाय दुवैले यसलाई छिटोभन्दा छिटो उपलब्ध गर्न तत्काल लाग्ने । साथै सरकारको नियम अनुसार हरेक अस्पतालले पी.एस.ए. प्लान्ट एकदेखि दुई महीनाभित्र जडान गर्ने ।

दीर्घकालीन रूपमा कम्तीमा एउटा लिक्विड अक्सिजन प्लान्ट नेपालमै स्थापना गरी ढुवानीको लागि क्रायोजेनिक कन्टेनरहरू खरीद गर्ने र अक्सिजन उद्योगीहरूलाई विद्युत् महसुलमा विशेष छुटको व्यवस्था गरी थप उद्योग राख्न प्रोत्साहित गर्ने । केही अक्सिजन उद्योग सरकारले नै जगेडाको रूपमा स्थापना गर्ने ।

कोरोना नियन्त्रणका लागि तत्काल गर्नुपर्ने काम

विश्वमा कोरोनाको विभिन्न भेरियन्ट विकसित हुने क्रम जारी रहेको र अझै धेरै पटक कोरोना संक्रमणको वेभ व्यहोर्नुपर्ने तीतो सत्यलाई आत्मसात् गर्दै हामीले तत्काल निम्न कार्यहरूलाई अगाडि बढाउन जरूरी छः

१. राष्ट्रिय खोप अभियानलाई पहिलो प्राथमिकतामा राखी छिटोभन्दा छिटो हरेक नेपाली जनतामा खोप लगाउने कार्य सम्पन्न गरौं । यसका लागि सरकारले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त सबै खोपहरू ल्याउन सक्ने गरी निजी क्षेत्रलाई पनि संलग्न गरेर अगाडि बढ्नु जरूरी छ ।

जनता खोपको लागि पैसा तिर्न तयार छ । विपन्न वर्गलाई सरकारले निःशुल्क उपलब्ध गराउन सक्छ । एउटा दुइटा मात्र देशको खोप कम्पनीहरूसँग मात्र निर्भर हुँदा वर्षौंसम्म हामीलाई पुग्ने डोज पाउन सकिने अवस्था छैन । हाल विश्वमा ८ वटा कम्पनीका खोप प्रभावकारी देखिएकोले प्रयोगमा आइसकेको छ ।

२. अक्सिजन लगायत कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने औषधिजन्य सामग्रीहरू सजिलै उपलब्ध हुने व्यवस्था गर्ने ।

३. हवाई मार्ग र स्थलमार्ग हुँदै छिमेकी देशबाट नेपाल प्रवेश गर्ने नेपाली र विदेशी नागरिकको टेस्टिङ गर्ने र क्वारेन्टिन/आइसोलेसनमा राख्ने व्यवस्थालाई वैज्ञानिक रूपले व्यवस्थापन गर्ने । यसको लागि नेपाली सेनाको सहयोग लिनु उपयुक्त हुनेछ ।

४. टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ कार्यको लागि डेडिकेटेड टीम बनाएर प्रभावकारी रूपमा गाउँ गाउँसम्म पुर्‍याउने ।

५. साधारण, एचडीयू, आईसीयू बेड तथा भेन्टिलेटर सहितको बेडको व्यवस्थापन हुने गरी कोभिड अस्पतालहरू थप्ने र भएका अस्पतालहरूको क्षमता वृद्धि गर्ने ।

६. कोभिड बिरामीको उपचारमा अहोरात्र खटिरहनुभएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मी र सम्बन्धित सबै कर्मचारीलाई उच्च सम्मानका साथ प्रोत्साहन भत्ता तत्काल व्यवस्था गरी उहाँहरूको मनोबल उच्च राख्ने । नेपाल आर्मीमा रहेको जनशक्तिलाई थप प्रभावकारी रूपमा संचालन गर्ने ।

होम आइसोलेसनमा रहेका कोभिड बिरामीहरूको उपचारको लागि विशेष टोली खडा गरी घरघरमा सेवा दिने व्यवस्था गर्ने । गाउँगाउँमा समेत संक्रमण फैलिसकेको हुनाले स्थानीय निकायले गाउँगाउँमा स्वास्थ्यकर्मी र आइसोलेसनको व्यवस्था गर्ने ।

७. हरेक नागरिकले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने । मास्क, स्यानिटाइजर लगाउने र सामाजिक दूरी कायम राख्ने । सामाजिक कार्यहरूमा जमघट नगर्ने र राजनीतिक पार्टीहरूले भीड जम्मा गर्ने कुनै कार्यक्रम नगर्ने ।

हामीले गर्ने हरेक कार्यहरू तीव्र गतिमा गरौं । कुरामा मात्र सीमित नरहौं । जति छिटो काम गर्‍यौं त्यति नै छिटो हामीले कोरोनाबाट मुक्ति पाउनेछौं । हरेक नागरिकले पनि आफ्नो दैनिक जीवनशैलीमा परिवर्तन गर्नैपर्छ । हामी अनुशासित भयौं भने मात्र आगामी दिनमा आउने ठूला ठूला चुनौतीलाई सजिलै सामना गर्न सक्नेछौं ।

(घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।)

प्रतिकृया दिनुहोस्