Tuesday, June 22

ढल्यो नेपाल प्रहरीको ‘ज्यूँदो इतिहास’

May 20, 2021 168

अहिलेको पुस्ताका धेरै प्रहरीलाई थाहा नहुन सक्छ, नेपाल प्रहरीको इतिहासमा खड्गजित बराल यस्ता व्यक्ति हुन्, जो १४ वर्ष सेवा अवधिमै फौजको सर्वोच्च पदमा पुगे । पेन्सनका लागि चाहिने २० वर्ष जागिर अवधि पुग्नु अगावै प्रहरी महानिरीक्षक (आईजीपी) को चार वर्षे कार्यकाल पनि पुरा गरे ।

आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको कार्यकाल दुई वर्ष थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए । त्यसो त उनलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिष्पर्धाको पहिलो ब्याचबाट महानिरीक्षक बन्ने पहिलो अधिकृतका रुपमा पनि चिनिन्छ ।

२००७ सालपछि एकतन्त्रीय राणा शासनविरुद्ध लडेका मुक्ति सेनाका सिपाहीमध्येबाट नेपाल प्रहरी बनाइएको थियो । त्यसैले त्यतिबेलाका प्रहरी प्रमुख मुक्ति सेनाबाट आउनेहरू नै हुन्थे । बराल वि.सं. २०१३ सालमा पहिलोपटक इन्स्पेक्टरका लागि भएको खुला प्रतिष्पर्धाबाट प्रहरी सेवामा नियुक्त भएका अधिकृत थिए ।

जानकारहरूका अनुसार त्यतिवेला प्रहरी अधिकृतहरू खासै पढेका हुँदैनथे । बराल भने अपवाद थिए । प्रहरीमा स्नातकोत्तर उत्तीर्ण पहिलो महानिरीक्षकको रेकर्ड पनि उनैले बनाए ।

पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोरा भन्छन्– प्रहरी पाटीपौवामा बस्ने गर्थें । छाना नभएका प्रहरीका लागि भौतिक संरचना बनाउने अभियानको सुरुवात बरालले नै गर्नुभएको हो

भारतको गोरखपुरमा बसेर उनले एमए तहसम्म अध्ययन गरेका थिए । २००७ सालको क्रान्तिमा मुक्ति सेनाका रुपमा उनी केही समय होमिएका थिए ।

तर मुक्ति सेनाको सिपाही बनेको छोटो समयमै नेपालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भयो । नेपाली कांग्रेस, राजा र राणाबीच प्रजातन्त्र स्थापनाको सहमति भयो । बराल चाहिँ सहमतिप्रति असन्तुष्ट पक्षसँग उभिए र विरोधी खेमामा लागे ।

असन्तुष्ट पक्षले भैरहवामा आक्रमणको प्रयास गरे, बरालहरू समातिए । पछि हिंसात्मक गतिविधि नगर्ने सर्तमा छुटेपछि उनी प्रहरी बन्ने प्रतिष्पर्धामा होमिए ।

प्रहरीमा आधुनिकीकरण गरेको श्रेय

बराल आईजीपी हुँदाताका राजा वीरेन्द्रको निजी सुरक्षा अधिकृत (एडीसी) बसेका तत्कालीन इन्स्पेक्टर मोतिलाल बोहोराका अनुसार बराललाई आधुनिक प्रहरी निर्माणको श्रेय पनि दिने गरिन्छ । उनी आईजीपी हुनुअघिसम्म प्रहरी पाटीपौवामा बस्ने गर्थें ।

‘छाना नभएका प्रहरीका लागि भौतिक संरचना बनाउने अभियानको सुरुवात बरालले नै गर्नुभएको हो’, पूर्वप्रहरी महानिरीक्षक समेत रहेका बोहोरा सम्झन्छन्, ‘प्रहरीलाई घर बनाउन निश्चित बजेटको व्यवस्था गरेर स्थानीयसमेतको जनसहभागितामा उहाँले ब्यारेक र भवन बनाउने कार्यको सुरुवात गर्नुभएको थियो ।’

पूर्वसचिव खेमराज नेपालको पुस्तक ‘समाज, संस्कार तथा शासन’मा पनि बरालले १९ हजार रुपैयाँ दिएर जिल्ला प्रहरी कार्यालय, संखुवासभाको भवन बनाउन अह्राएको उल्लेख छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी नेपालले पैसा नलिइ फर्किएपछि जिल्लाका इन्स्पेक्टरलाई त्यो रकम दिएर स्थानीय स्रोत र जनसहभागिता जुटाएर ९५ हजार रुपैयाँमा कार्यालय भवन बनाइएको नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका अनुसार बरालको पालासम्ममा प्रहरीलाई रासनको सुविधा थिएन । थोरै तलबबाट लत्ता, कपडा र खानेकुराको व्यवस्था गर्नुपथ्र्यो । ‘बराल सा’बले नै सरकारसँग पौठेजुहारी खेलेर रासन भत्ताको व्यवस्था मिलाउनु भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यतिवेला निकै जुनियर भए पनि उहाँका धेरै कुराहरू मेरा स्मरणमा ताजा छन् ।’

तत्कालीन सरकारका एडीसी बोहोरा २०३०/०३१ सालतिर राजालाई बरालले लामो जाहेरी गरेर रासन भत्ता दिने विषयमा राजी गराएको मनमा अझै ताजै रहेको सुनाउँछन् ।

‘म बाहिर थिए, उहाँ निकैबेर भित्र बस्नुभयो,’ बोहोराले सुनाए, ‘राजाको कोठाबाट निस्किएपछि बुझिस् बोहोरा, हामीले रासन पनि पाउने भयौं भनेर सुनाउनु भएको थियो ।’

राजासँग सहमति प्राप्त हुने वित्तिकै गृह मन्त्रालयसम्म रासनसम्बन्धी प्रस्ताव पुग्यो र सबै प्रहरीले रासन पाउन थाले । बोहोराका अनुसार बरालले भारतको माउन्ट आबु स्कुलबाट इण्डियन पुलिस सर्भिस (आईपीएस) को आधारभूत तालिम गरेका थिए । त्यसैले उनलाई भारतको प्रहरी सेवाबारे राम्रो जानकारी थियो ।

आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको दुई वर्ष कार्यकाल थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए

जापानको टोकियो इम्पिरियल पुलिस कलेज, बेलायतको वेल्सस्थित कार्डिफ पुलिस स्कुल र अमेरिकामा समेत फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) तालिम गरेका कारण विभिन्न मुलुकका प्रहरी कसरी चलेका छन् भन्नेबारे बराललाई राम्रो ज्ञान थियो । त्यसैले प्रहरीको आधुनिकीकरणमा उनको भूमिका उल्लेखनीय मानिन्छ ।

‘प्रहरीको ऐन, कानून निर्माण र परिवर्तन गर्ने विषयमा सरकारलाई महत्वपूर्ण सुझावहरू उहाँ दिनुहुन्थ्यो, खासमा प्रहरीलाई आधुनिक बनाउने विषयमा उहाँको ठूलो देन छ,’ बोहोरा सम्झन्छन् ।

सीमा सुरक्षाको जग बसाउने श्रेय पनि बराललाई नै जाने प्रहरी अधिकृतहरू स्मरण गर्छन् । बराल प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा २०२५/२७ सालतिर पहिलो पटक सीमा सुरक्षा चौकीहरू स्थापना भएका थिए ।

आईजीपी बनेपछि बरालले सीमा सुरक्षा चौकी स्थापना सम्बन्धी विस्तृत कार्ययोजना नै अघि सारे । त्यसअनुसार २०३५ सालसम्ममा ओलाङ्गचुङगोला, किमाथाङ्का, थ्याङ्गबोचे, छेकम्पाड, हुम्दे, लोमन्थाङ, मुचू, तिन्जे, मुगु, तिङकर र यारीमा चौकी स्थापना भयो । नेपाल–भारत सीमातिर दत्तु, साँगडी, कट्टी कटैया, संग्रामपुर, पशुपतिनगर, कृष्णनगर, मानेभञ्ज्याङ, बेलहिया, काँकडभिट्टासहित २० वटा सीमा प्रहरी चौकी स्थापना भए ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेपाल प्रहरीलाई सदस्यता दिलाउन पनि बरालको भूमिका महत्वपूर्ण छ । ‘त्यतिवेला उहाँ आईजीपी त हुनुहुन्न थियो तर उहाँको जुन अन्तर्राष्ट्रिय सम्बन्ध थियो, त्यसले नेपाल प्रहरीलाई इन्टरपोलको सदस्यता दिलाउन सहयोग गर्‍यो’ बोहोरा भन्छन् ।

प्रतिकृया दिनुहोस्