Friday, June 25

अक्षम र नालायकीमा बितेका संसदीय राजनीतिका ३० वर्ष

May 24, 2021 89

५ पुस २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको जननिर्वाचित प्रतिनिधिसभाको विघटन, संविधानको मर्म र भावना विपरीत गरिएको लहडी निर्णयमा आवश्यक परामर्श गरेर निकास खोज्न सकिने राष्ट्रपतिको अभिभावकीय जिम्मेवारी समेत बेवास्ता गरियो ।

अहिले फेरि तिनै प्रधानमन्त्रीको लहडमा उनैको रबरस्ट्याम्प बनेर राष्ट्रपतिबाट मध्यरातमा गरिएको संसद विघटनको सदर संविधानको ‘कु’ हो । यो अस्वाभाविक र नाटकीय रात्रिकालीन सोखको खलनायकी दम्भ र कुण्ठाको बीउ अंकुरित भएको मात्र हो । किनकि कुण्ठा र दम्भको बीउ मध्यरातमा मात्र उम्रन सम्भव थियो ।

जनताको जनवादको फरिया लगाएको समाजवादी एमालेका रजौटाले पाले–पोसेका रैतीलाई अभिभावकको दर्जा दिएर आज यो हविगत भएको हो । ‘भो पर्दैन’ को खल्तीमा ‘हि हि’ नामको रबरस्ट्याम्प राख्न दिएर भएको गल्तीको अब पश्चात्ताप गर्ने बाहेक के नै बाँकी रह्यो र !

त्यसो त यसबीचमा राजनीति र यसका (खल) नायकहरूबाट गरिएका निहित स्वार्थकेन्द्रित अन्योल, खिचातानी, गुटबन्दीका व्यवहारहरू समेत क्षमायोग्य छैनन् । यी क्रियाकलापले लोकतन्त्र र समाजको उन्नतिमा पुर्‍याएको क्षतिको हिसाब सबैले राखेकै छन् ।

देशको आर्थिक–सामाजिक संरचनामा व्यापक परिवर्तन गरेर समाजवादको जग हाल्न स्थिर सरकारको अनुमोदन भएको ऐतिहासिक अवसरलाई एक दम्भी, कुण्ठित शासकलाई साथ दिने मतियार राष्ट्रपतिको यो लाचारीेले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा घचेटेको छ । यसले हाम्रो लोकतान्त्रिक बाटो हुँदै उन्नत हुने सपनामा तुषारापात भएको छ । स्वाभिमानी नेपालीको शिर झुकाएको छ । यो लज्जाबोेधको कारक अक्षम्य छ ।

यो सार्वभौम नागरिकप्रतिको जवाफदेही विहीनताको पराकाष्ठाको ऐतिहासिक कलंक पनि हो । यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यले हामीलाई कहिलेसम्म पिरोल्ने हो आकलन गर्ने बेला त अझै भएको छैन तर अनिष्ट भविष्यको संकेत भने प्रष्टै छ ।

यस अर्थमा, प्रतिनिधिसभालाई भंग गर्ने प्रधानमन्त्रीको सिफारिश र राष्ट्रपतिको ‘हि हि’ राजनीतिक स्थिरताको लागि बहुमतप्राप्त सरकारले संसद विघटन गर्न नपाउने भन्ने संविधानको व्यवस्था र मर्ममाथिको कुठाराघात मात्र होइन, यो निरंकुशताको अभ्यासको स्पष्ट संकेत पनि हो । यो हाम्रो लोकतान्त्रिक अधिकारको हनन् पनि हो ।

त्यसो त ३० वर्षदेखि सत्तामा रहँदै आएको अहिलेकोे राजनीतिक मूलधारको राजकाजको नालायकी र अक्षमता इतिहासमा दर्ज गर्न समेत लायक छैन । यो नालायकीका मूकदर्शक हामी सबै हांै । केही गरी यो इतिहासमा लेखिएछ भने राजनीतिको यो पुस्ताका बारेमा नयाँ पुस्ताले के विचार गर्ला ? यस्तो सोच मात्रले पनि लाजले भुतुक्क बनाउँछ किनकि म यसको जवाफ दिने हैसियतमा कहिल्यै हुनेछैन । यस अर्थमा हाम्रो सामूहिक असफलताको योभन्दा दुरुह चित्र अरू के नै पो होला र ?

यस्तो किन भयो ? विगतलाई फर्केर नहेर्ने होे भने भविष्यको मार्गचित्र बनाउन सकिंदैन ।

आजभन्दा ३० वर्षअघि शुरू गरिएको बहुदलीय यात्रामा जम्मा २९ अक्षम र नालायक सरकारप्रमुख बनायौं । तर नेपालमा विकासको मूल फुटाउन र एशियाली मापदण्डमा पुर्‍याउने शाही घोषणाको सिको गर्दै नेपाललाई सिंगापुर बनाउन काठमाडौंका सडक मेलम्चीको पानीले सफा गर्ने सपना बाँडेको ३० वर्षपछि पूरा भएको छ । यसबीचमा महाकालीको पानी र पहाडिया जवानी बेच्न उक्साउन छिमेकीले नेपाली राजनीतिका रजौटालाई लेण्डुप दोर्जेका क्लोन बनाउन हरसम्भव सबै यत्न गरे र आजपर्यन्त जारी छ । सार्क, एमसीसी, बीआरआई त गोरु जुधाउने देखाउने राता झण्डा मात्र हुन् ।

अहिले १५ वर्षे गणतान्त्रिक लोकतन्त्रका नाममा गरिएको राज्यदोहन र लुटपाट २०६२/६३ अगाडिका १५ वर्षमा गरिएका लुटपाटको पुनरुत्पादन हो । यो सीमा नदी मात्र बेच्ने हैन सरकारी सम्पत्ति, सांसद र बिचौलिया दलाललाई टिकट किनबेच र सुरा–सुन्दरीका रासलीलामा बरालिएको संसदवादको उच्चतम अभिव्यक्ति हो ।

यो १० वर्षे जनयुद्धलाई तार्किक निष्कर्षमा नपुर्‍याउँदै कुकुरले पाएको हाडमा लुछाचुँडीमा बरालिएको देखेर हौसिएको जनयुद्धका खलनायकहरूको विसर्जनवादी कुण्ठित मनोवृत्तिको परिणति पनि हो । त्यति मात्र हैन यो लुटपाट देखेर कुण्ठित भएको निर्दलीय भूतले जगाएको ज्ञानेन्द्र पथ र यो आधा सच्चिएको देख्ने अक्षमताको लज्जित मुखौटो समेत हो । आफैंभित्र गाँजिएको पञ्चभूतले त्रसित राजनीतिक दरिद्रताको नमूना समेत हो ।

लाउडा, सुन तस्करी, एनसेलको कर छली, अख्तियारको मनपरीतन्त्र, माफियाको चलखेल, बिचौलिया दलाल र रजौटाको अकुत सम्पत्ति केही प्रतिनिधि उदाहरण मात्र हुन् । सुकुम्बासीका नाममा राजनीति गर्नेले लाज–घिन पचाएर बालुवाटारको जग्गामा आँखा लगाउने होस् या सांसद किनबेच, अपहरण र साइवर सेनाको गुण्डागर्दी त सामान्य नै भयो ।

यो जातीय उपनिवेशी राज्यको कुरुपता हो । वंशीय तथा जहानियाँ शासनका प्रतिनिधि, तिनका मतियार, भ्रष्टाचारको उर्वरतामा उदाउँदो मध्यम वर्ग, बिचौलिया र दलालहरूसँग नाफाको जिन्दगी भन्दै कुण्ठा साट्ने नालायक रजौटा नेपाली सत्ता–राजनीतिको रंगमञ्चका खलनायक हुन् ।

सबै पार्टीहरूमा खासगरी भारदारी कम्युनिष्ट र प्रजातान्त्रिक समाजवादको दुहाइ दिने पार्टीहरूमा रूपमा निम्न आर्थिक वर्गबाट आएका भए पनि आजको सारमा नव सामन्त भइसकेका यिनै सामन्ती नेताहरूको  कुरुप अनुहार मात्र देखिन्छ ।

यिनीहरू सबैले रैती नेता कार्यकर्ता उत्पादन कारखाना चलाएका छन् । कुनै पेशा, व्यवसाय र रोजगारी नभएका नेता तथा कार्यकर्ता नै सबैभन्दा सम्पन्न र विलासी छन् । यिनले अरूलाई देखाउने र चपाउने छुट्टाछुट्टै दाँत राखेर बसेका छन् । यिनको भित्री मनले भ्रष्ट हुनुमा सधैं गर्व गर्छ भने यसैका लागि शक्तिमा टिकिरहन बाहिर लोकाचारका लागि समानता र समृद्धिको भाषण गर्नमै रमाउँछ ।

भान्से, छोराछोरी र दलाल, सत्ताको अन्य आलंकारिक गहना हुन् । यी सुदखोर राजनीतिक गुट बनाउन सधैं सक्रिय भइरहन्छन् । राजनीतिक जीवनको चार दशकमा यस्ता धेरै भान्से, छोराछोरी र दलाल, देख्ने, भोग्ने र आमनेसामने भएको छु । यिनैका संगतले स्थायी सरकार भनिने कर्मचारीतन्त्र, चन्दा दिएर लाभ लिन पल्केको निजी क्षेत्र र विकासे भनिने गैसस निकम्मा भएको छ । र यो निकम्मा जमात नै अहिले हाम्रो समृद्ध हुने सपनाको सबैभन्दा ठूलो तगारो बनेको छ ।

अहिले दलहरूको आन्तरिक लोकतन्त्र सबैभन्दा संकटमा छ । सबै पार्टीहरू राजनीतिक अराजकहरूको झुण्ड बनेका छन् । धेरै पार्टीलाई दर्शन, विचार र दृष्टिकोणको कुनै अर्थ छैन । मुर्कुट्टा संस्कृतिमा रमाउने यो जमात आफ्नो गुटको स्वार्थमा चुर्लुम्म डुबेको छ । बुद्धले कति कक्षा पढेका थिए भनेर ज्ञानको उपहास गर्नेहरू अहिले सत्ताको शीर्ष स्थानमा छन् । यिनैको तावेदारीमा रमाउने बौद्धिक बिचौलियाको सबैतिर हालीमुहाली छ ।

अहिले यी सबै मिलेर संसदीय लोकतन्त्रको डुंगा डुबाएका छन् । महाकोरोनाको यो संकटमा यिनले जे ताण्डव नाच देखाए यसले भाइरस, कोरोना र राजनीतिको यो महाकोरोनाको साइनो के छ होला ? यसबारेमा आधुनिक चिकित्सा विज्ञानले आधिकारिक अनुसन्धान र निष्कर्ष निकालेको त रहेनछ तर मानव तथा समाजशास्त्र विज्ञानमा भने यसका धेरै व्याख्या र विश्लेषण भएका छन् । यिनीहरू महाकोरोनाजीवी हुन् । जनताको रगत, पसिना, पीप र लाशमा नै यिनीहरू अझ सप्रन्छन् । तर अब जुका जस्तै झर्न मात्र बाँकी छ । विडम्वना, यो महाकोरोना एउटा दलमा मात्र लागेको छैन ।

अहिलेको महाकोरोना जात्रा पहाडमा घ्यू खाको मेरो हात सुँघ भन्दै बीपीको सपना भजाएर खाँदै हिंड्ने कांग्रेसको अक्षमताको फाइदा उठाएर नेपाली कम्युनिष्टको एकता नामको हात्तीको दाँत देखाउँदै प्रधानमन्त्री चपाउन गरिएको नाटक मञ्चनको पर्दा झरेको मात्र हो । यसले तथाकथित दुईतिहाइ, संविधानवाद, समाजवाद उन्मुख समाज र ३० वर्षदेखि सर्वदलीय संयन्त्र र गठबन्धनका नाममा हामीमाथि शासन गर्ने नेतातन्त्रका रजौटा सत्तामा रहँदा २० र बाहिर हुँदा १९ मात्र हुन् ।

अहिले प्रतिगमनका पाइला चाल्ने नालायक अधिनायक होउन् वा संस्थागत विधिविधानको बकबके स्वार्थ बाझिएर मात्र सडकमा पुगेका हुन् । यिनका गुटका गोटी फेरेर या यिनै निकम्मा पार्टी र नेतालाई पालैपालो सक्षम र अक्षमको बिल्ला भिराउँदैमा हाम्रो उन्नत हुने सपना साकार भएन । अब पनि हुँदैन ।

तसर्थ, जनताको मत र अभिमतको रक्षा गर्दै भविष्यमुखी यात्रा सहज बनाउन संक्रमणकालीन निकासका लागि मार्गप्रशस्त गर्ने सामूहिक दायित्वबोध गर्न ढिला हुँदैछ । संसदीय अभ्यासमा रहेका सबै राजनीतिक पार्टीहरू प्रतिबद्ध भएर आफ्ना नालायकी र निकम्मापनको प्रायश्चित गरेर यो राजकाजको जिम्मा भावी पुस्तालाई बुझाउने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्