Friday, June 25

सगरमाथामा आकाशिएको आनन्द (फोटो फिचर)

May 26, 2021 42

१२ जेठ, काठमाडौं । फुर्वा छिरिङ शेर्पा र केशवप्रसाद गौचन (सोवित) एक हजारभन्दा बढी पटक सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका छन् । फुर्वा शेर्पा आफ्नो काम विशेषले प्रवेश गरेका हुन् भने गौचन हेलिकप्टर लिएर सगरमाथा क्षेत्रका कुना–कुना पुगेका हुन् । फुर्वा पेशाले स्वास्थ्य क्षेत्र र पर्यटनसँग जोडिएका छन् भने गौचन हेलिकप्टरका पाइलट हुन् ।

हेली एभरेष्टको अपरेसन तथा प्रमोसन निर्देशक एवं ऐरा इन्टरनेशनल अस्पतालको निर्देशक पनि हुन् शेर्पा । स्वास्थ्य क्षेत्रसहित हेलिकप्टर कम्पनीसँग जोडिएको नाताले उनी धेरैपटक सगरमाथा क्षेत्र पुगेको सुनाउँछन् ।

सगरमाथा क्षेत्रको बिभिन्न स्थानमा मैले धेरै पटक स्वास्थ्य शिविर सन्चालन समेत गरेको छु,’ उनले भने, ‘फुर्सदमा म पदयात्रा गरिहाल्छु ।’ पदयात्रा जाँदा उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने रहर लाग्थ्यो । तर यसपटक भने उनले आँट गरे । ‘यसअघि आँट गरेको थिएन । योपटक आँट गरेँ, सफल पनि भएँ,’ उनले सुनाए ।त्यस्तै विगत एक दशकदेखि निरन्तर हेलिकप्टकर उडाउँदै आएका पाई्लट एवं हेली एभरेष्टको निर्देशक रहेका केशव प्रसाद गौचन (सोवित)को पनि यसपटकको सगरमाथा क्षेत्रको यात्रा अविस्मरणीय रह्यो । यसपटक उनले सगरमाथा क्षेत्रमा आरोहीलाई हेलिकप्टरमा बोक्ने काम मात्र गरेनन्, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे । ‘यो साहसिक पल जीवनमा भुल्ने छैन,’ उनले भने ।

विगतमा हेलिकप्टरमा बोक्दा सगरमाथा आरोहीको सफलता तथा असफलता सुनेका उनले यसपटक आफैं आरोहण गर्दा महसुस गरेको खुसीको सीमा छैन । ‘निकै कठिन छ भन्ने सुनेको थिएँ, योपटक आफैंले अनुभुति गर्ने मौका पाएँ, निकै गर्व लाग्यो,’ उनले भने ।

आरोहण अनुभव

सगरमाथा आधार शिविरबाट उकालो लागेपछि मन निकै बेचैन भयो । जति उकालो लाग्दै गयो उती डरको आकार बढ्दै गयो । हामीसँग गिनिजबुकमा नाम लेखाइसक्नु भएका हेली एभरेष्टका मार्केटिङ निर्देशक तथा आरोही टासी शेर्पा पनि  थिए ।

आरोहणको क्रममा क्याम्प १ देखि २ सम्म उकालो तथा कतै कतै सम्म पनि हिँड्न पाई्न्छ । क्याम्प ३ भन्दा माथि त सम्म भन्ने देख्न पनि पाइँदैन । अझ रातिको समयमा यात्रा गर्दा निकै उत्साह र डर मिसिएर आउँदो रहेछ ।

आरोहण गर्दा सबैभन्दा कठिन स्थान भनेको क्याम्प ३ देखि हो । जुन आरोहणमा भुल्नै नसक्ने हुँदो रहेछ । सगरमाथा आरोहण साउथ समिट नजिक पुग्दा निकै गाह्रो लागेको थियो हामीलाई । रातभर हिँडेको थकान त्यसमाथि सिधै उकालो भएर होला निकै सकस अनुभूति भयो ।

साउथ समिट नजिकै ८ हजार ५ सय मिटर नजिक पुग्दा उज्यालो भएको थियो । उज्यालोमा यताउता हेर्दा पो देखियो अरु हिमाल त आफूभन्दा निकै तल पो थिए । त्यो आनन्दको अनुभूति गर्न मात्रै सकिन्छ, शब्दमा भन्न गाह्रो हुन्छ । सगरमाथाको चुचुरोमा पुगेपछि खुसीको आकार पनि त्यस्तै गरि आकाशियो ।

अनि केही समय आरोहणमा गएका साथीहरु सबै तस्विर कैद गर्न मग्न भए । केही समय सगरमाथाको चुचुरोमा आनन्दको सागरमा तैरियौँ । त्यसपछि हाम्रो फिर्तियात्रा सुरु भयो । आरोहणभन्दा फर्कँदाको यात्रा कठिन भयो । कतिपय स्थानमा त आङ नै जिरिङ्ग भयो ।

जब चुचुरोमा पुग्यौं

गौचन र फुर्वा शेर्पा भन्छन्, ‘जब सगरमाथाको चुचुरोमा पुग्यौँ स्वर्ग भनेकै यहीहो जस्तै भयो । वरीपरी पनि हिमालै हिमाल, आफू त झनविश्वकै अग्लो सगरमाथाको चुचुरोमा । विश्वकै अन्य ८ हजार मिटर अग्ला हिमाललगायत दर्जनौं टाकुरा देख्दा लाग्यो धर्तीको सबैभन्दा शान्त र सुन्दर ठाउँ यही हो । हाम्रो जीवनकालमा यो पल कहिल्यै बिर्सने छैनौं ।

हेली एभरेष्ट प्रालीका प्रवन्ध निर्देशक फूर्वा ग्याल्जेन शेर्पा सगरमाथा क्षेत्रमा बर्सेनि सयौं उडानहरु भइरहे पनि हेलिकप्टर पाइलटले सगरमाथा आरोहणमा हासिल गरेको सफलता गौरवको विषय भएको बताउँछन् । ‘हाम्रै कम्पनीका तीनजना निर्देशकहरुले सगरमाथाको सफल आरोहण गर्नु भयो । सम्भवत नेपालको इतिहासमा पहिलो पाइलटले सगरमाथा आरोहण गरेका होला, त्यो झन् हाम्रो कम्पनीको मात्र नभएर देशकै गौरवको कुरा हो, उनले भने ।

प्रतिकृया दिनुहोस्