Monday, August 2

चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?

June 25, 2021 36

‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएकाे ठट्यौलाे कथा हो यो ।

विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने चार्ली च्याप्लिनमा केन्द्रित छ ।

वास्तवमा चार्ली च्याप्लिन विश्वकै महान हास्य अभिनेता हुन्, सर्वकालीन । उत्कृष्ट हास्य-विनोद एवं मौलिक शैलीले उनलाई अजम्बरी बनाएका छन् । संवादरहित एवं मूक फिल्मको युगमा सबैभन्दा रचनात्मक र प्रभावशाली व्यक्तित्व थिए उनी ।

‘च्याप्लिन : अ लाइफ’ नामक पुस्तकको समीक्षामा मार्टिन सिएफ्फले लेखेका छन्, ‘च्याप्लिन ठूला मात्र थिएनन्, विराट थिए ।’ पहिलो विश्वयुद्धपछि विश्व जसरी आतंकको छायाँमा काँपिरहेको थियो, त्यही बखत चार्ली च्याप्लिन हास्य-विनोदको राहत प्याकेज लिएर प्रकट भएका थिए । उनले आफ्नो जीवनकालभर विश्वलाई स्वस्थ मनोरञ्जन दिइरहे । चाहे त्यो महामन्दीमा होस् वा हिटलरको चरम युगमा । सिनेमाको पर्दामा उनी बोलेनन् । नबोलेरै पनि सबैलाई हँसाए, आफ्नो रसिक भावभंगीको भरमा । ‘स्ल्यास्टिक कमेडी’बाट उनले आफूलाई महान हास्य अभिनेताको रुपमा स्थापित गरे ।

कष्ट र अभावको धरातलबाट उठेर उनी कसरी विश्वभर कहलिए ? हास्य-कलाकारिताको विराट आयामलाई कसरी स्थापित गरिदिए ?

यसरी सुरु हुन्छ उनको कथा 

उनको पूरा नाम : चार्ली स्पेन्सर च्यापलिन । जन्म : १६ अप्रिल १८८९ । जन्मस्थान : लन्डन, इंल्यान्ड ।

च्याप्लिन कलाकारिताकै पृष्ठभूमिमा हुर्किए । उनका पिता चार्ल्स स्पेन्सर च्याप्लिन र आमा हैना च्याप्लिन सिनियर म्युजिक हलमा गाउने र अभिनय गर्ने गर्थे । सुरुवाती तीन वर्षलाई छाडेर चार्ली च्याप्लिनको बाल्यकाल एकदमै कष्टदायी रह्यो ।

चार्ली सानै छँदा आमा मानसिक रोगको सिकार भइन् । उनी सक्रिय रुपमा काम गर्न असमर्थ थिइन् । एकपटक थिएटरमा गीत गाइरहँदा उनको स्वरमा समस्या आयो । उनको यो कमसल प्रदर्शनपछि दर्शकहरु भड्किए । उनीहरुले मञ्चमा बोत्तल लगायतको झटारो हान्न थाले । चार्लीकी आमा घाइते भइन् । उनलाई मञ्चबाट लखेटियो ।

स्थिति भद्रगोल भयो । अन्ततः प्रबन्धकले यो स्थितिलाई सम्हाल्न, चार्ली च्याप्लिनलाई मञ्चमा उतारे । जबकि यतिबेला चार्ली मात्र पाँच वर्षका थिए ।

बालक चार्ली मञ्चमा प्रकट भए । अनि त्यसबखतका चर्चित धुन ‘ज्याक जोन्स’ गाए ।

के भनिन्छ भने, त्यसबेला चार्लीले आफ्नै लवजमा आमाको गीतको नक्कल गर्न थाले । यो देखेर दर्शकहरु मस्त हाँस्न थाले ।

संभवत: उनको बाल मनोविज्ञानमा कस्तो छाप पर्‍यो भने, असलीमा जुन कुरा दुःखदायी हुन्छ स्टेज र फिल्ममा त्यही कुरा हास्य-मनोरञ्जन बन्न पुग्छ । यही कारण चार्लीले हास्य कलाकारिताको फेरो समाएर फिल्ममा दुःख, दरिद्रता, एक्लोपन, अभाव,बेरोजगारीको चित्रण गरिदिए ।

वास्तवमा चार्लीको जीवन पनि दुःखबाटै सुरु भएको थियो । उनी तीन वर्ष नपुग्दै आमा र बुवा अलग भएका थिए । पछि आमालाई जटिल मानसिक रोगले च्याप्यो । उनलाई पागलखानामा पुर्‍याइयो ।

चार्ली आफ्ना पिता र सौतेनी आमासँगै बस्नुपर्ने भयो । पिता स्वयम् रक्सीको अम्मली थिए । चार्ली १२ वर्षको हुँदा उनका पिताको रक्सीकै कारण मृत्यु भयो । यसरी कलिलै उमेरमा उनले आमा र बुवाको सामीप्य गुमाए । यसपछि चार्ली च्याप्लिन र उनका सौतेनी भाइले संघर्षमय दिनहरु गुजारे ।

सन् १८९७ मा चार्ली च्याप्लिनले आफ्नी आमाकै कन्ट्र्याकको उपयोग गर्दै आफ्नो पेशा अगाडि बढाउने योजना बनाए । तर, जति प्रयास गरे पनि यसमा उनी सफल भएनन् । सानोतिनो काम गरेर पनि गुजारा गर्ने प्रयास गरे । १० वर्षको उमेरमै उनले पढाइ छाडे । किनभने चार्ली र उनका सौतेनी भाइका लागि जरुरी थियो कि, स्वयंका लागि गुजाराको प्रबन्ध  मिलाउनुपर्ने ।

त्यसबेला उनी १२ वर्षका थिए । तब एक लेजिटिमेट मञ्चको कार्यक्रममा नाटक देखाउने मौका पए । र, ‘शर्लाक होम्स’ मा विलियम जिल्लेटका सहयोगमा पेज ब्वाईको रुपमा उपस्थित भए । यसपछि सन् १९०८ मा चार्लीले भाउडेभिलमा हास्य कलाकारको रुपमा करियर सुरु गरे, जसले आखिरमा संयुक्त राज्य अमेरिकाको ‘फ्रेण्ड कार्नो रिपरटोरी कम्पनी’को प्रधान अभिनेता बनाइदियो ।

अमेरिकी दर्शकमाझ उनी चाँडै लोकप्रिय भए । खासगरी ‘अ नाइट इन एन इंग्लिस म्युजिक हल’ मा निर्वाह गरेको चरित्र चित्रण औधी रुचाइयो ।

सन्  १९१२ मा फ्रेण्ड कार्ने कम्पनी दोस्रोपटक अमेरिका टुरमा गएको बखत उनलाई मोसन पिक्चरमा अनुबन्धका लागि प्रस्ताव आयो । यसका लागि उनले भाउडेभिलको जिम्मेवारी छाड्नुपर्ने भयो ।  सन् १९१३ मा चार्ली च्याप्लिन क्यामेराको सामुन्ने उभिए । यसरी उनले सिनेमाको दुनियाँमा पाइला राखे ।

सोही महिना चार्ली म्याक सेन्नेट र किस्टोन कम्पनीमा आबद्ध भए । यसको सुरुवाती आय हप्तामा एक सय पचास डलर थियो । तर, रातारात हिट हुन थालेपछि अरु निर्माता उनको पछि लागे । पारिश्रमिकको ग्राफ आकासियो ।

चार्लीको फिल्मी करियर

सेनेटसँगको करार सकिएपछि चार्ली सेने कम्पनीसँग जोडिए, सन् १९१५ मा । सोही बेला चार्लीका भाइ सिड्नी पनि अमेरिका आए । किस्टोनले चार्लीको ठाउँमा भाइलाई उभ्याए, भाइ सिड्नी पनि हास्य कलाकारितामा स्थापित भए ।

यता च्याप्लिनले एक विशेष किसिमको चरित्रमा अभिनय गर्ने निर्क्याेल गरे । उनी ‘इन्सानय कम्पनी’मा जोडिए । त्यहाँ उनलाई हप्ताको १२ सय ५० डलर पारिश्रमिक तोकियो । यस कम्पनीमा च्याप्लिनले चौध वटा फिल्म गरे । उनले हास्य कलाकारितालाई नायकको रुपमा स्थापित गरे ।

२६ वर्षको उमेरमा उनी सुपरस्टार भइसकेका थिए । त्यसबखत उनी एक म्युचुअल फिल्म कर्पोरेसनमा आवद्ध भए,  जहाँ उनलाई ६७ हजार डलर पारिश्रमिक मिल्थ्यो । यही पैसाले चार्ली च्याप्लिनलाई धनाढ्यको सूचीमा उभ्याइदियो । म्युचुअल फिल्म कर्पोरेशनमा रहेर उनले धेरै राम्रो काम पनि गरे ।

२० औं शताब्दीमा चार्ली च्याप्लिनको ख्याति विश्वभर फैलिसकेको थियो । त्यस दशकमा उनले केही सर्वकालीन फिल्महरु दिए, ‘दि किड’, ‘दी पिल्ग्रिम’, ‘अ वुमन इन पेरिस’, ‘दी शोल्ड रश’ ।

उनी एक हलिउड हास्य अभिनेता र निर्देशकको रुपमा प्रख्यात भए । उनी सर्वाधिक चर्चित कलाकार हुनका साथै अमेरिकी सिनेमाको क्लासिक हलिउड युगको प्रारम्भबाट मध्यसम्म एक महत्वपूर्ण फिल्म निर्माता, संगीतकार र संगीतज्ञ थिए । आयमिक क्षमता भएका चार्लीले फिल्ममा अभिनय मात्र गरेनन्, निर्देशन, पटकथा लेखन, निर्माण र संगीतको काम समेत गरे ।

सन् १९९५ मा अस्कर अवार्डको बखत द गार्जियन अखबारको एक सर्वेक्षणमा फिल्म समीक्षक र दर्शकलाई सोधिएको थियो, ‘सबैभन्दा मनपर्ने हिरो को हो ?’ यसको नतिजा आश्चर्यलाग्दो थियो । किनभने चार्लीको मृत्युको दशक पछि पनि अधिकांशको ‘मनपर्ने हिरो’मा उनी सूचीकृत थिए ।

नाटकीय जीवन

उनको निजी जीवनमा अति प्रशंसा र विवाद दुवै सामेल छ । उनको जीवन नै नाटकीय रह्यो । आफ्ना फिल्ममा काम गर्ने अधिकांश अभिनेत्रीसँग उनको प्रेम सम्बन्ध हुन्थ्यो । सन् १९१८ मा अर्थात १६ वर्षको उमेरमै चार्लीले विवाह गरेका थिए, मिल्ड्रेड हरिससँग । तर, यो विवाह दुई वर्षसम्म मात्र कायम रह्यो । त्यसपछि उनले अर्की अभिनेत्री लीता ग्रेसँग दोस्रो विवाह गरे । उनले च्याप्लिनसँग  एक फिल्ममा काम गरे, दी गोल्ड रश । त्यसपछि उनी गर्भवती भइन् । उनीहरुबाट दुई छोरा जन्मिए । जबकि उनीहरु एकअर्कासँग खुसी थिएनन् । त्यसैले दुवैले सम्बन्ध विच्छेद गरे ।

सन् १९३६ मा च्याप्लिनले तेस्रो विवाह गरे । सोही बखत उनको अर्की अभिनेत्रीसँग सम्बन्ध रह्यो । उनीहरुबाट छोरी जन्मियो । तर, एक परीक्षणबाट के थाहा भयो भने त्यो छोरी च्याप्लिनको होइन ।

सन् १९४३ मा च्याप्लिनले १८ वर्षीय ऊना ओ नीलसँग विवाह गरे । त्यसपछि मात्र उनको दाम्पत्य जीवन सफल भयो । उनीहरुबाट आठ सन्तान जन्मिए ।

एकदमै धेरै महिलासँग सम्बन्ध भएकाले उनलाई अमेरिकाको केही राज्यमा प्रवेशमा रोक लगाइयो । अनेक राजनीतिक झै-झमेलासमेत आइपरेपछि उनी अमेरिकालाई ‘अलबिदा’ गरेर स्विट्जरल्यान्डको एक सानो गाउँमा बस्न गए ।

च्याप्लिनकाे पार्थिव शरीर चोरी भयो

सन् १९७२ मा चार्ली च्याप्लिन अन्तिम पटक संयुक्त राज्य अमेरिका गए । त्यहाँ उनलाई अनरेरी एकेडेमी अवार्ड दिइयो । उनको अन्तिम फिल्म ‘अ काउन्टेस फ्रेम होङकङ’ सार्वजनिक भयो । यो उनले निर्माण गरेको एकमात्र रंगीन फिल्म थियो । यो फिल्म धेरै चलेन ।

सन् १९७७ डिसेम्बरको २५ मा स्विटजरल्यान्डको कोर्सिएर सुर वेवेस्थित घरमै उनको मृत्यु भयो । त्यसबेला उनी आफ्ना पत्नी र सात बच्चासँगै ओछ्यानमा थिए ।

च्याप्लिनको पार्थिव शरीर चोरी भयो । दुई व्यक्तिले उनको शरीर जेनेभा झिल नजिक, चिहानमा गाडेका थिए । उक्त मृत शरीर फिर्ता लिनका लागि दुई व्यक्तिले परिवारसँग ४ लाख डलर माग गरेका थिए । आखिरमा ती दुई व्यक्ति पक्राउ परे । हप्तादिन पछि च्याप्लिनको शरीर परिवारलाई मिल्यो ।

प्रतिकृया दिनुहोस्