Monday, January 17
Shadow

कोरोना महामारीः के नेपाल अर्को ठूलो क्षतिको नजिक पुग्दैछ ?

१० साउन, काठमाडौं । साउन ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने संकेत गर्दै स्वास्थ्य संस्थाहरुमा अक्सिजन, शय्यालगायत आवश्यक पूर्वाधारहरु चुस्तदुरुस्त राख्न आग्रह गर्‍यो ।

पछिल्लो एकसाता लगातार संक्रमणदर बढेपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको थियो ।

तर, डेढ महिनाअघि नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने संकेत गर्दै तयारी अवस्थामा रहन सचेत गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा तेस्रो लहर आइनसकेपनि जोखिम बढेको देखिएको विज्ञहरु बताउँछन् ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला १२ वटा रहेका छन् भने तीन सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरु २४ वटा छन् ।

यो नै जोखिम नटरेको देखाउने पर्याप्त आधार रहेको महामारी विज्ञ डा. केदार बराल बताउँछन् । समुदायमा संक्रमण रहेसम्म सधैं जोखिम हुने उनको भनाइ छ । उनका अनुसार संक्रमण लामो समयसम्म रहँदा भाइरसले रुप परिवर्तन गरी धेरै क्षति गर्न सक्ने सम्भावना रहेकाले भाइरसलाई जतिसक्दो छिटो समुदायबाट निस्तेज गर्नुपर्छ । ‘हाम्रोमा संक्रमणको ग्राफ स्थिर नभएकाले जोखिम अझै छ, किनकि संक्रमण बढ्दै छ भने खोप सबैले पाएका छैनन्’ डा. बराल भन्छन् ।

‘दोस्रो लहरमा जे-जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुन्न’ संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् ।

महामारीको चरण लामो हुने भएकाले तेस्रो, चौथो र पाँचौ लहर आउनु अनौठो नभएको जनस्वास्थ्य विज्ञ डा. शरद वन्त बताउँछन् । समुदायबाट निमिट्यान्न नपारुञ्जेल आफ्नो रुप परिवर्तन गरी संक्रमण फैलाइरहनु नै भाइरसको प्रकृति रहेको उनको भनाइ छ ।

उनको अनुसार महामारी जुनसुकै चरणमा पुगेपनि पूर्वतयारी र भाइरसलाई नियन्त्रण गर्ने प्रयास नै महत्वपूर्ण हुन्छ । ‘निषेधाज्ञा नै गर्नुपर्छ भन्ने होइन तर समुदायभरि संक्रमण फैलिइरहँदा  नियन्त्रणको प्रयास नगर्नु नै घातक संकेत हो ?’ भण्डारी भन्छन् ।

भाइरसलाई फैलने वातावरण निर्माण गर्नु घातक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । निषेधाज्ञा खुलेसँगै समुदायस्तरमा रहेको संक्रमण नियन्त्रण गर्न र निस्तेज पार्न सरकारले कुनै भूमिका नखेल्दा ठूलो क्षति हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार यो नै तेस्रो लहर निम्त्याउन सरकारले गरेको ठूलो लापरवाही हो । ‘अस्पतालमा आएका बिरामीलाई मात्रै उपचार गरेर महामारी नियन्त्रण कसरी हुन्छ, खै त समुदायस्तरमा परीक्षण गरेको ?’ डा. मरासिनी प्रतिप्रश्न गर्छन् ।

डा. मरासिनीले भनेझैं समुदायस्तरमा परीक्षण नपुगेको विज्ञहरु बताउँछन् । परीक्षणको सीमितता हुँदा समुदायस्तरमा संक्रमण फैलिइरहेको उनीहरुको दाबी छ ।  महामारी विरुद्ध लड्न सरकार उदासिन रहेकाले तयारी अपुग रहेको डा. मरासिनी बताउँछन् । ‘भाइरसलाई लामो समयसम्म समुदायमा रहिरहन दिने हाम्रो हेलचेक्र्याइँले नै तेस्रो लहर निम्त्याउन सक्छ, तर हामी त्यसको लागि अझै तयार छैनौं’ उनी भन्छन् ।

समाजमा भइरहेको गतिविधि र भाइरसले छिटो-छिटो छिटो रुप परिवर्तन गर्ने हुनाले पनि तेस्रो लहर नजिक रहेको महामारी विज्ञ बराल बताउँछन् । महामारीमा सम्भावनाको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा त्यो हुन नसकेको उनको भनाइ छ ।

उनी अगाडि भन्छन्, ‘अहिले अरु देशको उदाहरण हेर्दा जेपनि हुन्छ भनेर तयारी गर्ने र सचेत रहनुपर्ने अवस्था हो । तर बिडम्बना हाम्रोमा महामारी नै छैन जसरी गतिविधि भइरहेका छन् ।’

दोस्रो लहरले अझै पनि धेरै क्षति गर्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । पछिल्लो सात दिनमा १ सय ६८ जना कोरोना संक्रमितको मृत्यु भयो । अझैपनि दैनिक दुई दर्जनभन्दा बढी संक्रमितको मृत्यु हुनु सामान्य अवस्था नरहेको उनको भनाइ छ । ‘दोस्रो लहर सुरु भएको धेरै लामो समय भइसक्यो । दैनिक यति धेरै क्षति हुनु भनेको सामान्य होइन । तेस्रो लहरका लागि लड्ने तयारी त परको कुरा अहिले दोस्रो लहर विरुद्ध लड्न पनि सरकारले चासो देखाएको देखिन्न’ डा.  कोइराला भन्छन् ।

तथ्यांकको विश्लेषण गर्दा भारतमा दोस्रो लहर सुरु भएको एक महिनापछि नेपालमा पनि दोस्रो लहर सुरु भएको थियो । पछिल्लो समय भारतमा पनि संक्रमण बढेकाले नेपालमा स्वतः जोखिम बढेको छ । सोही कारण सीमा व्यावस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । ‘दोस्रो लहरमा जे-जे गल्ती गरेका थियौँ, अहिले त्यो गल्ती नदोहोर्‍याउने हो भने पहिलेजस्तो क्षति हुन्न’ डा. कोइराला भन्छन् ।

महामारीसँगसँगै अघि बढ्नलाई परीक्षण बढाउनुपर्ने डा. वन्त बताउँछन् । परीक्षण गरेर संक्रमितलाई आइसोलेट गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनका अनुसार अहिलेको अवस्थामा खोपको व्यावस्थापन र वितरण नै महामारी विरुद्ध लड्ने महत्वपूर्ण हतियार हो । ‘जनस्वास्थ्यको मापदण्डसँगै धेरै भन्दा धेरै नागरिकलाई खोप लगाउन सकियो भने ठूलो क्षतिबाट बच्न सकिन्छ’ डा. वन्त भन्छन् ।

अक्सिजन, बेड र जनशक्ति तयारी अवस्थामा राख्नुको साथसाथै महामारी नियन्त्रणका लागि आजबाट काम थाल्नुपर्ने डा. कोइराला बताउँछन् । ‘हामी उपचारात्मक सेवाको मात्रै भर पर्ने हो भने सधैं जोखिममा हुन्छौं, त्यसैले व्यापक परीक्षण र संक्रमितलाई आइसोलेट बिना महामारी रोक्न सकिन्न्’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *