Friday, June 25

आदिम कालका मान्छेले के खाए, कुन समयमा उब्जाउ भयो कुन अन्न ?

April 28, 2021 74

कृषि क्रान्ति सम्भवतः मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण क्रान्ति थियो । वास्तवमा संसारभरि विभिन्न समयमा थुप्रै कृषि क्रान्तिहरू भए । यो एउटा घटना नभएर लामो एवं क्रमिक प्रक्रिया थियो जसमा मानिसहरूले घुमन्ते जीवनशैली मात्रै नभएर आफूलाई कृषि र सभ्यतामा समेत परिवर्तन गर्दै गए । साहित्यिक व्याख्यानबाट हामीले जान्न सक्छौं कि कसरी पुरानो मानिसहरूले कृषिमा आधारित समाजको विकास गरेर अहिलेको अवस्थासम्म आइपुगे ?

कृषि क्रान्तिको सुरुवात १८ औं शताब्दीको अन्ततिर भएको दार्शनिक एवं अर्थशास्त्री थोमस मालथस बताउँछन् । मानव जनसंख्या पनि स्रोतको उपलब्धताको अधीनमा छ। जनसंख्या त्यति नै छिटो बढ्न सक्छ जति संसाधनहरूले नयाँ पुस्तालाई खुवाउन सक्छ । यदि यसको संख्या धेरै भयो भने प्रकृतिले नै नियन्त्रणको लागि अनेकौं उपायहरू अपनाउने गर्छ । जस्तो अहिले कोरोनाको महामारी देखिएको छ । यदि स्रोतहरू प्रशस्त छ भने जनसंख्या स्वाभाविक रूपमा छिटो बढ्छ । प्रागैतिहासिक कालमा कृषि जस्तो नयाँ प्रविधिको आविष्कार भए । जनसंख्या नाटकीय रूपमा बढ्न थाल्यो । तर नयाँ टेक्नोलोजीले उत्पादन गर्न सक्ने जुनसुकै चीज पनि प्राकृतिक नियन्त्रण प्रणालीको सामु कमै हुन्छ ।

इसाको १० हजार वर्षअघि पहिलो पटक कृषि क्रान्ति भयो भन्ने मान्यता राखिन्छ । त्यो समयमा हालको इराक, सिरिया, पूर्वी टर्की, लेबनान, इजरायल जस्ता क्षेत्रमा उत्पादन सुरु भयो । सोही समयदेखि नै बोका, भेँडा र गाईसहित विभिन्न बिरुवा र अन्नहरू पनि लगाउन थालियो ।

हालको एसियामा धान, मेसोमेरिकामा मकै, दक्षिण अमेरिकामा आलुको विकास भयो भने अफ्रिका र इथियोपियामा पनि छुट्टाछुट्टै अन्नको विकास भयो । कतिपय ठाउँमा प्राचीन समयमा अन्नको विकास हुन सकेन । जस्तो अष्ट्रेलिया, अमेजन र कालाहारी मरूभूमिमा समेत लामो समयसम्म उत्पन्न हुन सकेन ।

युनिभर्सिटी अफ प्यासिफिकका प्राध्यापक केन अलबाबाले तयार पारेको फूड : अ कल्चरल कुलिनरी हिस्ट्री नामक पुस्तकमा उल्लेख भए अनुसार इसापूर्व ७००० वर्षअघि ग्रिससम्म खेतिको सुरुवात भएको थियो । इसापूर्व ६००० वर्ष पहिले कृषिको विस्तार क्रमश संसारभरि फैलियो । पूर्वी स्पेन र सेन्ट्रल जर्मनीमा इसापूर्व ५००० मा कृषिको विकास भयो । कृषि क्रान्तिपछिको पहिलो सभ्यता गहुँबाट सुरु भएको हो । गहुँसँगै जौ र दलहन सामग्रीको सुरुमा विकास भयो ।

त्यस्ता खानाहरू तुलनात्मक रूपमा उच्च प्रोटिन युक्त थिए । सुरुमा यस्ता खानाहरू प्राय: काँचै खान थालियो । यसमा बन्दाकोबी जस्ता तरकारीहरू समावेश भए । त्यतिबेलासम्म दुग्ध उत्पादनहरू मानव आहारमा लगभग पूरै नयाँ खालका थिए ।

जनसंख्याको चापले केही व्यक्तिहरूलाई खाना पकाउने नयाँ तरिकाहरू अपनाउन बाध्य बनायो । समयसमयमा आउने आवर्ती संकट, खाद्यान्न अभाव र अनिकाल लगायत कारण धेरै मान्छेमा व्यवस्थापनको मोडल विकास हुन थाल्यो । जसरी हिम युग सकिने बेलामा जाडो र गर्मीबाट बाँच्नको लागि मान्छेले विभिन्न प्रविधिको विकास गरायो । यसरी नै मान्छे कृषि विकासको विभिन्न चरणमा पनि छुट्टै भोगाइबाट चलिरह्यो ।

जतिबेला मान्छे शिकारी युग कटेर सभ्यताको सुरुवात तिर लाग्यो । त्यसपछि मान्छेमा बिस्तारै शिकार मात्रै नभएर खानाको सञ्चितिको अवधारणा समेत विकास हुन थाल्यो । पृथ्वी ४ पटक हिम युगमा पुग्यो र ३ पटक हिमानी युगमा गयो भन्ने मान्यता राखिन्छ । हिम युगमा रहेको पृथ्वी जब तातो हुँदै जान्छ त्यसपछि जीव जन्तुको विकास हुँदै जान्छ । सोही अनुसार खाना र अन्य सभ्यताको सुरुवात हुन्छ र जब त्यो वातावरणसँग मान्छे घुलमिल हुन सक्दैन । त्यसपछि भने मान्छे बिस्तारै अस्तित्वबिहीन बन्दै जान्छ ।

जब पृथ्वी न्यानो हुन थाल्यो । गर्मीमौसममा पृथ्वीको तापक्रम ६० देखि ८० डिग्री फरेनहाइटसम्म पुग्दा मान्छेले खानाको विभिन्न तरिकाहरू अपनायो । बिस्तारै मौसम वातानुकुलित हुँदै गएपछि मान्छेमा शिकार गर्न गाह्रो र जम्मा गर्न सजिलो हुन थाल्यो । त्यसपछि भिभिन्न प्रजातिका अन्न एव‌ं फलफूलहरू लगाउन थालियो । मान्छेले आफ्नो सारथिको रूपमा कुकुर पाल्न थाले । जुन सबैभन्दा पहिलेदेखि पाल्न सुरु गरिएको पशु थियो । त्यसपछि बिस्तारै अन्य पशुहरू पनि पाल्न सुरु भयो । पशुपालनभन्दा अघि नै मान्छेले कृषिको विकास गरेर विभिन्न फसल उत्पादन सुरु गरिसकेको थियो ।

प्रतिकृया दिनुहोस्