Friday, June 25

जनमोर्चाले सोध्यो– हाम्रो सांसदलाई अस्पतालमा बन्दीको रुपमा राख्नुको कारण के हो ?

April 29, 2021 57

१६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा भएको शाहीको अनुपस्थितिलाई रहस्यमय भनेको छ ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा उनी सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको थाहा भएको थियो । जिम्मेवार केन्द्रीय नेता तथा सांसदहरु जाँदा पनि उनीसँग भेट गर्न नदिइएको जनमोर्चाले जनाएको छ ।

‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’ राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

यो पनि पढ्नुहोसगण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !

कोरोना संक्रमण भएको रिपोर्टसहित शाही चरक अस्पतालको कोभिड आइसियूमा भर्ना भएका छन् । तर कोरोना परीक्षण रिपोर्टमा समेत जनमोर्चाले प्रश्न उठाएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको शाहीलाई अकस्मात कसरी पोजेटिभ रिपोर्ट आयो भनेर जनमोर्चाले प्रश्न गरेको छ ।

गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

जनमोर्चाले गण्डकी प्रदेशको संसदको गतिविधिलाई अस्वाभाविक रुपमा लिएको भन्दै जनमोर्चाले संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । शाहीको स्थितिबारे थप सूचना प्राप्त भएपछि जानकारी दिने उपाध्यक्ष पौडेलले बताएकी छन् ।

गण्डकी प्रदेशको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने पार्टीको प्रष्ट र दृढ नीति रहेको उल्लेख गर्दै पौडेलले मतदानको दौरानमा भएका घटनाप्रति आश्चर्य र दुःख लागेको जनाएकी छन् ।

गण्डकी प्रदेशमा बुधबार मतदानको तयारी हुँदै गर्दा राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको स्थिति अज्ञात भएको भन्दै उनी उपस्थित नहुँदासम्म अविश्वास प्रस्तावमाथिको मतदानलाई स्थगित गर्न माग गरेकी थिइन् । त्यसैको आधारमा सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशसभाको बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

जनमोर्चासमेतको समर्थनमा कांग्रेस, माओवादी र जसपाका सांसदहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सरकार जोगाउने र ढाल्ने अंकगणितको खेलमा जनमोर्चा निर्णायक भूमिकामा छ ।

प्रतिकृया दिनुहोस्