Tuesday, June 22

निषेधाज्ञामा सुध्रियो देशभरको वायुको गुणस्तर

May 6, 2021 61

२३ वैशाख, काठमाडौं । देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागेपछि काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण घटेको छ । उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायुको गुणस्तर सुधार भएको हो । मानिसहरु घरबाहिर निस्कन छाडेपछि मानवीय कारणले हुने वायु प्रदूषण पनि घटेको छ ।

वर्षायाम नलाग्दासम्म प्रदूषण मापन गर्दा सधैं ‘रेड जोन’मा रहने काठमाडौं निषेधाज्ञापछि ‘ग्रिन जोन’मा पर्न थालेको छ । यसले काठमाडौंको हावाको गुणस्तर धेरै राम्रो भएको देखाउँछ ।

सरकारले राखेको प्रदूषण मापन केन्द्रका तथ्याङ्कअनुसार नेपालका सबैजसो क्षेत्रमा वायु प्रदूषण कम भएर ‘ग्रिन’ र ‘एल्लो’ जोन कायम भएका छन् ।

काठमाडौंमा शंखपार्क क्षेत्रमा वायुको गुणस्तरले प्रदूषणको तह पार गरेको छ । अन्य क्षेत्रमा भने वायुको गुणस्तर सुधारोन्मुख देखिन्छ । काठमाडौं उपत्यकाभन्दा बाहिर वायु प्रदूषण कम छ ।

तथ्याङ्कअनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमा दिउँसो १ बजेको आसपासमा वायु प्रदूषण (पीएम २.५) को स्तर १९.४माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ ।

रत्नपार्कको पीएम २.५ को मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्डभन्दा आधा कम हो । यसबाट काठमाडौंकोको वायुको गुणस्तर निकै सुधार गएको थाहा हुन्छ ।

काठमाडौंको शंखपार्कमा पीएम २.५ को परिमाण ३९.७ माइक्रोग्राम प्रतिघनमिटर छ भने भैंसेपाटीमा १८.७, भक्तपुरमा ३१.२ र कीर्तिपुरमा १८.१ माइक्रोग्राम प्रतिघनमिटर छ

उपत्यकाबाहिर पनि हावाको गुणस्तर राम्रो छ । धनगढीमा पीएम २.५ को मात्रा २३.२ माइक्रोग्राम प्रतिघनमिटर छ । सिमारामा २२.२, दाङमा १६.९, धनकुटामा १५.९ र सौराहामा १५.७ माइक्रोग्रामप्रति घनमिटर छ । त्यसैगरी हेटौंडामा १०.४, विराटनगरमा ८.५, रारामा १३.८ माइक्रोग्राम प्रतिघनमिटर छ ।

नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डले ०६९ ले पीएम् २.५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ ।

सामान्यतया पीएम् २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोन भन्दा कम हुन्छ । यी कणहरु श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ । भारत, पाकिस्तानहरुका देशहरुमा पीएम २.५ को मात्रा मापदण्डमा तोकेको छ ।

नेपालका सबैजसो भागमा पीएम १० मा मापदण्डअनुसार कै वायुप्रणाली सक्रिय छ । पीएम १० भनेको १० माइक्रोनभन्दा कम व्यास भएका कणहरु हो । यी कणहरु श्वासप्रश्वासको तल्लो भागसम्म पुग्न सक्छ, जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्छ ।

विभिन्न देशहरुमा पीएम १० को मात्रा फरक–फरक छ । नेपाल सरकारले पीएम १० को मापदण्ड १२० माइक्रोन प्रतिघनमिटर कायम गरेको छ ।

नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले वायु प्रदूषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । टीएसपी भनेको ‘टोटल सस्पेण्डेड पार्टिकल्स’ हो । यसमा पनि सबै क्षेत्रमा राम्रो सुधार देखिएको छ ।

प्रतिकृया दिनुहोस्